close

क्यानडाको ओन्टारियो विरुद्ध नेपालको जित

क्यानडाको ओन्टारियो विरुद्ध नेपालको जित

Trulli
फाइल फोटो
ADVERTISEMENT

क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले शुक्रबार भएको खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको छ । सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २२० रन बनाएको थियो । 

नेपालका लागि विकेटकिपर विनोद भण्डारीले अर्धशतकीय पाली खेले । भण्डारीले ५९ बलमा ८ चौकासहित सर्वाधिक ५७ रनको योगदान दिए । 

नेपालका ओपनर आसिफ शेख ७५ बलमा ४ चौकासहित ४२ रनमा रन आउट भए । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले १३ ओभर ३ बल खेल्दै ४३ रनको साझेदारी गरेका थिए । 

देव खनाल ४४ बलमा २ चौकासहित २७ रनमा क्याच भए । दोस्रो विकेटका लागि देव खनाल र आसिफले ५० रनको साझेदारी गरे । उपकप्तान रोहित पौडेल दर्शिल पटेलको बलमा २ रनमा क्याच आउट भए ।

आरिफ शेख अमर खालिदको २६ औं ओभरको अन्तिम बलमा रन आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी र आरिफ शेख समान १९/१९ रनमा आउट भए । बसिर अहमदले २६ बलमा २४ रन र आदिल अन्सारीले १० रन जोडे । 

ओन्टारियोको शील पटेलले १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको ओन्टारियो ४२ ओभर ५ बल खेल्दै १५१ रनमा अलआउट भयो ।  नेपालका लागि पवन शर्राफले तीन विकेट लिए । 

दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । किशोर महतोले ६ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

त्रिकोणात्मक ओडीआई सिरिज

नेपालले अब क्यानडासँग दुई एकदिवसीय क्रिकेट खेल्नेछ । उक्त खेलपछि टोली स्कटल्यान्ड जानेछ। क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडीआई सिरिज हुनेछ ।

नेपाललाई आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सोझै खेल्न र ओडीआई मान्यतालाई निरन्तरता दिन दिन बाँकी सबै खेल खेल्नुपर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।

नेपाललाई सिधै विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुन शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडीआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।