close

माछापुच्छ्रे गाउँपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

माछापुच्छ्रे गाउँपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

Trulli
ADVERTISEMENT

कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि माछापुच्छ्रे गाउँपालिकाले जितेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा समग्रमा १५ स्वर्ण, १४ रजत र एक कास्य पदकसहित माछापुच्छ्रेले उपाधि उचालेको हो । प्रतियोगितामा पोखरा महानगर पालिका १४ स्वर्ण र ११ रजतसहित उपविजेता बन्दा अन्नपूर्ण गाउँपलिका एक स्वर्ण र दुई कास्यसहित तृतीय स्थान हासिल गर्न सफल भयो ।

प्रतियोगितामा छात्र भलिबलतर्फ अन्नपूर्णले स्वर्ण जित्दा पोखरा महानगरले रजत र माछापुच्छ्रेले कास्य पदक जितेको छ भने छात्रातर्फको भलिबलमा पोखरा महानगरले स्वर्ण, माछापुच्छ्रेले रजत र अन्नपूर्णले कास्य पदक हात पारेको छ ।

यसैगरी कबड्डीमा छात्रतर्फ पोखराले स्वर्ण र माछापुच्छ्रे गाउँपालिकाले रजत जितेको छ भने छात्रा कबड्डीमा माछापुच्छ्रेले स्वर्ण र पोखरा महानगरले रजत पदक जितेको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

एथलेटिक्स छात्र र छात्रातर्फ माछापुच्छ्रेले स्वर्ण १४, कास्य १२, पोखरा महानगरले १२ स्वर्ण र रजत नौ वटा पदक जित्न सफल भए भने अन्नपूर्णले समग्रमा चार कास्य पदक जितेका छन् । एथलेटिक्स खेलमा १३ वटा इभेन्टहरू सम्पन्न भएको निर्णायक श्यामबहादुर श्रेष्ठले बताए ।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसी, क्षेत्रीय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना, गण्डकी प्रदेश भलिबल सङ्घका अध्यक्ष नवीन गुरुङलगायतले नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । 

जिल्लास्तरीय प्रतियोगिताबाट राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, उसु र कराते गरी छ खेल आयोजना भएका थिए ।

जिल्लास्तरीय प्रतियोगिताबाट प्रदेशस्तरीय रनिङ शिल्डका लागि ८४ खेलाडीको छनोट गरिएको कार्यालय प्रमुख बरालले जानकारी दिए । प्रदेशस्तरीय रनिङ सिल्ड यही असार २३ र २४ गते पोखरामा आयोजना हुँदैछ ।