काठमाडौं । भारतले तेस्रो टि२० आई खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ । योसँगै पाँच टि-२० आई खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ ।
जितको लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतका सूर्यकुमार यादवले ४४ बलमा ८ चौका र ४ छक्कासहित ७६ रनको इनिङ खेले । विकेटकिपर ऋषभ पन्त २६ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे ।
कप्तान रोहित शर्मा ११ रनमै रिटार्यट हर्ट भएका थिए । जुन समय भारतले १९ रन बनाएको थियो । दोस्रो विकेटका लागि श्रेयस ऐर र सूर्यले ८६ रनको साझेदारी गर्दै जितको आधार तय गरे । ऐरले २७ बलमा २ चौकासहित २४ रनमा आउट भए ।
हार्दिक पान्ड्या ४ रनमा आउट हुँदा दीपक हुडा १० रनमा अविजित रहे । वेस्टइन्डिजका जेसन होल्डर, डोमिनिक ड्रेक्स र अकिल हुुसैनले एक एक विकेट लिए ।
त्यसअघि सेन्ट किट्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।
चौथो खेल शनिबार र पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ ।