काठमाडौं । भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनल खेल शुक्रबार हुँदैछ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने फाइनलमा आयोजक राष्ट्र भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ ।
पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्षस्थान दुईमा रहँदै बंगलादेश र भारतले फाइनल स्थान पक्का गरेका हुन् । साविक विजेता भारत घरेलु भूमिमा उपाधि सुरक्षित गर्न चाहन्छ । यता, बंगलादेश पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।
भारत प्रतियोगिताको साविक विजेता समेत हो । घरेलु टोली भारत समूहमा भोगेको हारको बदला लिन चाहन्छ । यता, बंगलादेश प्रतियोगितामा अपराजित यात्रा काम गर्दै उपाधि जित्ने दाउमा छ ।
नेपाल तेस्रो स्थानमा रहँदै उपाधि होडबाट बाहिरिएको थियो । नेपालले प्रतियोगितामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । बंगलादेशसँग बराबरी खेल्दा भारतसँग फराकिलो हार व्यहोरेको थियो ।