close

अन्जनको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपालको जित

अन्जनको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपालको जित

Trulli
ADVERTISEMENT

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले ३-१ गोल अन्तरको जित निकालेको छ ।

नेपालले पहिलो हाफमै ३ गोलको अग्रता लिएको थियो । नेपालका लागि अन्जन विष्टले ह्याट्रिक गरे । उनले पहिलो हाफको १८औं, २७औं र ३८औं मिनेटमा गोल गरेका थिए । 

बंगलादेशले दोस्रो हाफमा १ गोल फर्कायो । बंगलादेशका लागि ५५ औं मिनेटमा सजाद होसेनले गोल गरे । 

अन्जन विष्ट नेपालका लागि अन्तरराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी भएका छन् । नेपालका लागि अन्जनले हालसम्म १० गोल गरे ।

यसअघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन् ।

जितसँगै नेपाले पछिल्ला पाँच खेलमा बंगलादेशसँग अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

नेपाल र बंगलादेशबीच हालसम्म २७ खेल हुँदा बंगलादेश १४ खेलमा विजयी भएको छ ।

नेपाल ८ खेलमा विजयी हुँदा ५ खेल बराबरीमा सकिएको छ । पछिल्लो ५ खेलमध्ये नेपालले पछिल्लोपटक गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो ।

त्यसअघि नेपालमै भएको थ्रि नेसन्स कपमा बंगलादेशलाई २–१ ले हराएर उपाधी जितेको थियो । थ्रि नेसन्स कपकै लिग चरणमा गोलरहित बराबरी र त्यसअघि बंगलादेशमा भएको पहिलो मैत्रीपूर्ण खेल २–० ले गुमाएको नेपालले त्यसपछि गोलरहित बराबरी खेलेको थियो ।