काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालकी १९ वर्षीय कुस्ती खेलाडी दमन्ती बोहराले डेब्युमै आफ्नो तौल समूहमा स्वर्ण हात पारिन् ।
एक वर्षअघि मात्रै कुस्तीमा आएकी बोहराले नवौँ राष्ट्रिय प्रतियोगितामा महिलातर्फ ५० किलो तौल समूहमा स्वर्ण जित्दा ७२ किलो तौल समूहमा भीमदत्त नगरपालिका–१८ गोवरियाकी हेमा भट्टले पनि पहिलो सहभागितामै स्वर्ण जितिन् ।
दमन्ती र हेमा प्रतिनिधि पात्रमात्रै हुन् । उनीजस्तै प्रतिभावान खेलाडी उत्पादनको थलो बन्दै गरेको कञ्चनपुरले मुलुकमै अब्बल खेलाडी उत्पादनमा अग्रता कायम गर्न सफल भएको छ ।
नवौँ राष्ट्रियमा महिलातर्फ १० स्वर्ण पदकमा भीडन्त हुँदा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै खेलेका महेन्द्रनगरका पाँच महिला खेलाडीले स्वर्ण जिते ।
बाँकी स्वर्ण नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले कब्जा जमायो । सेनामा पनि पछिल्लो समय महेन्द्रनगरकै उत्पादनले प्रतिस्पर्धा गरिरहेका छन् ।
‘दमन्ती खेलमा नयाँ र हेमालाई फुटबलबाट कुस्तीमा ल्याएको थिए”, कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भने, ‘हामी कुस्तीमा महिलातर्फ मुलुकमै अब्बल सावित भइसकेका छौँ ।’
आठौँ राष्ट्रियमा पनि बहुमत छ जनाले सुदूरपश्चिमलाई स्वर्ण दिलाएको प्रशिक्षक चन्दले स्मरण गराए ।
दमन्ती र हेमाले स्वर्ण जित्दा यसअघिकी विजेता ५३ किलो तौल समूहकी मनिषा सिंहले स्वर्णलाई नवौँमा पनि निरन्तरता दिइन् भने ५५ किलो तौलमा कञ्चनपुरकी सङ्गीता धामीले स्वर्ण हात पारिन् । सङ्गीताले फाइनलमा यसअघि कञ्चनपुरबाट खेलिसकेकी र अहिले आर्मीमा आवद्ध शिवानी दुबेलाई पराजित गरिन् ।
१४औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सङ्गीता स्वर्ण पदक जित्ने पहिलो महिला कुस्ती खेलाडी हुन् । शिवानीले पनि सागमा पदक जितेकी थिइन् । त्यसैगरी प्रतियोगितामा महिलातर्फ ५९ किलो तौल समूहमा कञ्चनपुरकी कोमल खत्रीले सुदूरपश्चिमलाई अर्को स्वर्ण दिलाइन् ।
पाँच स्वर्ण, एक रजत र तीन कास्य जितेको सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरमा मात्रै कुस्ती प्रशिक्षण हुन्छ । ‘कुस्तीको नियमित प्रशिक्षणले गति लिएको विसं २०७२/७३ बाट हो,’ कुस्ती प्रशिक्षणमा सक्रिय चन्दले भने, ‘खेलाडीको नियमित सङ्घर्ष र प्रशिक्षणले सफलता हासिल गर्न सफल भएका हुन् ।’