कास्की । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको च्याम्पियन बनेको छ । एक सातासम्म गण्डकी प्रदेशमा भएको प्रतियोगितामा आर्मी १७२ स्वर्ण, ११० रजत र ८९ कास्य गरी कुल ३७१ पदकका साथ टिम च्याम्पियन बनेको हो ।
आर्मी यो लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सातौं र आठौं संस्करणमा पनि आर्मी टिम च्याम्पियन बनेको थियो ।
दोस्रो स्थान विभागीय टोली एपिएफले ६४ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २१८ पदक हात पारेको छ। तेस्रो स्थानमा पनि विभागीय टोलीले नै रह्यो । नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६० रजत र ७३ कास्य गरी कुल १९४ पदक जित्यो।
प्रदेशतर्फ अगाडि रहेको गण्डकी प्रदेश १२० पदकका साथ पदकतालिकाको चौथो स्थानमा रहेको छ । गण्डकी ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य पदक जितेको छ ।
पदक तालिकाको पाँचौ स्थानमा रहेको बागमतीले कुल १४५ पदक जित्यो । जसमा २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदक छ । प्रदेश एक छैटौं स्थानमा रहँदै १० स्वर्ण, २३ रजत र ५० कास्य गरी कुल ८३ पदक जित्न सफल भयो भने १० स्वर्ण, १० रजत र ४३ कास्य गरी कुल ६३ पदक जित्दै सुदूरपश्चिम सातौं स्थानमा रह्यो ।
त्यस्तै, एनआरएनएले १० स्वर्ण, ९ रजत र ७ कांस्यसहित २६ स्वर्ण जितेर आठौं भयो । लुम्बिनी प्रदेशले ६ स्वर्ण २२ रजत र ४० कास्यसहित ६८ पदक जितेर नवौं भयो भने मधेश प्रदेश ५ स्वर्ण ८ रजत र २६ कांस्यसहित ३९ पदक जितेर दशौं भयो । अन्तिम स्थानमा रहेको र दशौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएको कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ कांस्यसहित १८ पदक मात्र जित्यो ।
साथै, नवौं राष्ट्रिय खेलकुदका प्रमुख अतिथी प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुको झण्डा हस्तान्तरण गरेका छन् ।