काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-२० विश्वकपमा श्रीलंकाविरुद्ध आयोजक अष्ट्रेलियाले सानदार जित दर्ता गरेको छ । श्रीलंकाले दिएको १५८ रनको लक्ष्य अस्ट्रेलियाले विकेटको क्षतिमा १६ ओभर ३ बलमा पूरा गरेको हो ।
अष्ट्रेलियाको जितमा मार्कुस स्टोईनिसले १८ बलमा अविजित ५९ रनको अर्धशतकीय इनिङ खेले । कप्तान आरोन फिन्चले ३१ रन तथा ग्लेन म्याक्सवेलले २३ रन बनाए । श्रीलंकाका लागि धनन्जय डि सिल्भा,महेश तिक्षणा र चमिका करुणारत्नेले समान १/१ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनाएको थियो । श्रीलंकाका लागि पथुम निशंकाले ४५ बलमा ४० रन बनाएका थिए । चरिथा असलंकाले २५ बलमा अविजित ३८ रन बनाएका थिए । चमिका करुणारत्नेले ७ बलमा अविजित १४ रन बनाएका थिए ।
अष्ट्रेलियाका लागि प्याट कमिन्स ,जोस हेजलउड, मिचेल स्टार्क, एस्टन अगर र ग्लेन म्याक्सवेलले समान १/१ विकेट लिएका थिए ।
सुपर १२ को समूह ए मा रहेको अष्ट्रेलियाले तेस्रो खेलमा शुक्रबार इंग्ल्यान्डसँग खेल्नेछ । सेमिफाइनल खेल्न उक्त खेल अष्ट्रेलियालाई जित्नै पर्ने हुन्छ । श्रीलंकाले न्युजिल्यान्डसँग शनिबार खेल्नेछ ।