close

नेपालमा पहिलो पटक विश्वकप क्रिकेट हुँदै

नेपालमा पहिलो पटक विश्वकप क्रिकेट हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेपालले पहिलो पटक आइसिसी अन्डर १९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को बोर्ड बैठकले २०२७ मा हुने यु–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रूपमा दिएको हो। अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आइसिसीको यो निर्णयले नेपाली क्रिकेटको खेल पूर्वाधार र खेलस्तर वृद्धि गर्न मद्दत पुग्ने बताएका छन्। उनले पहिलो पटक आयोजनाको मौका पाएको विश्वकप सफल बनाउन सके थप प्रतियोगिता आयोजनाको मौका पाउन सक्ने बताउँदै प्रतियोगिता सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने बताए।

अध्यक्ष चन्दले प्रतियोगिता सञ्चालनको लागि करिब चार वर्षको समय भएकाले अब पूर्वाधार विकासको लागि सरकारसँग छलफल गर्ने पिन बताए।

त्यसैगरी आइसिसीले आइतबार सार्वजनिक गरेको अन्य निर्णयमा सन् २०२४ को यु–१९ पुरुष विश्वकप प्रतियोगिताको आयोजना श्रीलङ्काले गर्ने भएको छ। त्यसैगरी सन् २०२५ को यु–१९ महिला विश्वकप मलेसिया र थाइल्यान्डमा संयुक्त रूपमा आयोजना हुनेछ।

सन् २०२६ को यु–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रूपमा आयोजनाको जिम्मा पाएका छन् ।