close

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकामा नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । बुधबार नगरप्रमुख सुनील प्रजापतिको प्रमुख आतिथ्यतामा सहिदस्मृति खेल मैदानबाट सो प्रतियोगिता सुरु भएको हो । 

नगरप्रमुख प्रजापतिले  भलिबल खेलका रेफ्रि लक्ष्मीप्रसाद स्वंगमिखालाई खेल सामाग्री हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । उनले अनुशासित र सक्षम खेलाडीहरु तयार पार्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले पालिकाले खेलकुदहरुको नियमित प्रशिक्षण, प्रतियोगिता र खेलाडी सम्मान कार्यक्रमलाई जोड दिँदै आएको बताए । 

खेलकुद प्रतियोगिताहरु औपचारिकतामा मात्रै सीमित हुन नहुने बताउँदै उनले खेलकुद मानव जीवनको अभिन्न अंग हो र खेलाडीहरुले खेलकुदको क्षेत्रमा सशक्त भई अगाडि बढ्नु पर्ने बताए । 

वडा नम्बर १ का वडाध्यक्ष एवम् खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले २०८० पुस ११–१३ गतेबाट सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डको लागि भलिबल, कबड्डी, उसु, तेक्वान्डो, एथ्लेटिक्स र कराँते गरी ६ वटा खेलमा प्रतियोगिता हुने अवगत गराए  ।

 कार्यक्रममा भनपा वडा नम्बर ८ का वडा सदस्य तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत २०८० पुस ११ गते बिहान ८ बजेबाट सहिदस्मृति खेलमैदानमा भलिबल र कबड्डी खेल, पुस १२ गते माहेश्वरी खेलमैदानमा एथ्लेटिक्स र लिबाली कभर्ड हलमा तेक्वाण्डो प्रतियोगिता, १३ गते शुक्रबार ख्वप कलेजमा कराँते र लिबाली कभर्ड हलमा उसु खेलको प्रतियोगिता हुने जानकारी गराए।

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा नगरभित्रका ४५ वटा विद्यालयहरु र ७५० जना विद्यार्थीहरुको सहभागिता रहेको भक्तपुर नपाको खेलकुद समितिले जनाएको छ ।