close

पहिलोपटक नगर खेलकुद महोत्सव गर्दै पथरी शनिश्चरे

पहिलोपटक नगर खेलकुद महोत्सव गर्दै पथरी शनिश्चरे

Trulli
ADVERTISEMENT

मोरङ– पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र खेलिने खेललाई मध्यनजर गर्दै खेलकुद महोत्सव (नगर ओलम्पिक) गर्ने भएको छ । भोलिदेखि माघ १५ सम्म हुने ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव–२०८०’ मा सात विधामा प्रतिस्पर्धा हुने पालिकालेले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

पहिलो पटक ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ खेलकुदमा नयाँ आयमको सुरुआत गर्न लागिएको नगर कार्यालयले जनाएको छ । नगरभित्र रहेका खेलाडीको हौसला प्रदान गर्दै केही नयाँ कार्यक्रम गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको खेलकुद विकास समिति संयोजक दिपक राईले बताए । 

‘सकेसम्म बढी खेल समावेश गर्ने कोशिस गरेका छौँ । पहिलो पटक भएकाले व्यवस्थापन गर्न कठिन भइरहेको छ’, संयोजक राईले भने । महोत्सव नगरकै गौरव भएकाले यसलाई सफल बनाउन सम्पूर्ण नगरवासीलाई सहयोग गर्न उनले अनुरोध गरे । उनका अनुसार माघ ६ गते हुने शनिबार प्रस्तावित पथरी रङ्गशालामा उद्घाटन हुने कार्यक्रमको अन्तिम चरणमा पुगेको छ । 

उक्त प्रतियोगितामा फुटबल, तेक्वान्दो, कराते र मिनि म्याराथन (दौड) मा महिला र पुरुष दुवै विधामा खेल हुने समितिका सदस्य सचिव तथा नगर शिक्षा तथा खेलकुद शाखाका अधिकृत नवीन खुलालले जानकारी दिए । उनका अनुसार बुद्धिचाल (चेस), भलिबल र क्रिकेटमा पनि प्रतियोगिता हुनेछ । बुद्धिचाल खुला रहने छ भने भलिबल र क्रिकेट पुरुष विधामा मात्रै प्रतिस्पर्धा हुनेछ ।
 
रू १४ लाख ३१ हजारको बजेटमा हुन लागेको महोत्सवमा फुटबलका लागि १० समूह, क्रिकेटमा नौ, भलिबलमा सात समूहले सहभागिता जनाएका छन् । करातेमा पुरुष ३७ र महिला २०, तेक्वान्दोमा ५० र बुद्धिचालमा हालसम्म ८० जनाको नाम दर्ता भएको छ । त्यस्तै, मिनी म्याराथनका लागि ३० जनाले नाम दर्ता गराएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
 
फुटबल प्रतियोगितामा विजेता समूहले रू एक लाख, उपविजेताले रू ५० हजार, महिलातर्फका विजेताले रू १० हजार र उपविजेताले रू पाँच हजार नगदसहति ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । भलिबल खेलमा प्रथम हुनेले रू २५ हजार र दोस्रोले रू १५ हजार, क्रिकेटमा पहिलोले रू २० र दोस्रो रू १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । कराते र तेक्वान्दोमा प्रथम पुरस्कार रू पाँच हजारका दरले रहने छ भने मिनी म्याराथनमा प्रथम रू छ हजार, दोस्रो रू चार हजार र तेस्रो हुनेले रू दुई हजारका दरले नगद पुरस्कार पाउनेछन् ।

फुटबलमा प्रत्येक खेलमा म्यान अफ दी म्याच र विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोव्सले पुरस्कृत गरिने छ । पत्रकार सम्मेलनमा फुटबल, क्रिकेट र भलिबल प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिएको छ ।