close

मेयर कप भलिबलको उपाधि दमकलाई

मेयर कप भलिबलको उपाधि दमकलाई

Trulli
ADVERTISEMENT

भोजपुर- भलिबल खेललाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा सञ्चालित प्रथम मेयरकप अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जितेको छ । 

आज भएको फाइनलमा भोजपुरको षडानन्द नगरपालिकालाई सोझो सेटमा हराउँदै दमक नगरपालिका विजेता बन्न सफल भएको हो । शुक्रबार भएको सेमिफाइनलमा भोजपुरको आमचोक गाउँपालिकालाई हराउँदै दमक नगरपालिका र भोजपुर नगरपालिकालाई पछि पार्दै षडानन्द नगरपालिका फाइनलमा प्रवेश गरेका थिए । 

विजेता दमक नगरपालिकाले नगद एक लाख र उपविजेता षडानन्द नगरपालिकाले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने सेमिफाइनलमा पुगेका दुई टिमले पनि २५/२५ हजार पाएका छन् ।

यही माघ १० गतेबाट सञ्चालन भएको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा भोजपुर नगरपालिका, दमक नगरपालिका, षडानन्द नगरपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, अरुण गाउँपालिका र साल्पासिलिछो गाउँपालिका गरी आठवटा टिमले सहभागिता जनाएको आयोजक जिल्ला खेलकुद विकास समिति भोजपुरले जनाएको छ ।