close

नेपालकै लामो सिद्ध मकरीकोट पदमार्ग निर्माण हुँदै 

नेपालकै लामो सिद्ध मकरीकोट पदमार्ग निर्माण हुँदै 

Trulli
ADVERTISEMENT

दार्चुला -  दार्चुलाको अपिहिमाल गाउँपालिकाले नेपालकै लामो खुट्किलासहितको पदमार्ग निर्माणको काम गरिरहेको छ । पर्यटकलाई लक्षित गर्दै आठ हजारभन्दा बढी खुट्किला निर्माण गर्ने गरी पदमार्ग निर्माण कार्य भइरहेको हो ।

 

अपिहिमाल गाउँपालिका–५ को मकरीगाडदेखि वडा नम्बर ४ को मकरीकोट हुँदै खात्तीसम्म पुर्‍याउने गरी खुट्किला सहितको पदमार्ग निर्माण कार्य जारी छ । चिटिक्क स्लेट विच्छाइएको पदमार्गमा दायाँबायाँ रेलिङ राखिएको छ । त्यही रेलिङमा पेन्टिङ र स्लेटहरू मिलाएर बनाइएको सिँढी यतिबेला सबैको आकर्षण बनेको छ ।  

 

दार्चुलाको अपिहिमाल गाउँपालिकामा नेपालकै लामो पदमार्ग सिद्ध मकरीकोट पदमार्गको निर्माण कार्य हाल जारी छ ।

 

मकरीगाडबाट मकरीकोट चढ्न झण्डै तीन घण्टा समयलाग्थ्यो । त्यो पनि भिरालो बाटोमा ढुंगा खस्ने डर पनि उत्तिकै हुन्थ्यो । मान्छे हिँड्ने उही बाटोमा घोडा खच्चड, भेडाबाख्रा, पशुचौपाया पनि हिँड्ने भएकाले पूरै हिलो र धुलाम्य हुन्थ्यो । तर अहिले सिँढी निर्माण पछि पशु चौपायाका लागि अलग्गै र पदमार्गमा मान्छेलाई मात्र हिँड्न दिएपछि सफा सुग्घर अनि मनै लोभ्याउने भएको छ । 

 

संघीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारको समपूरक अनुदानमा पदमार्ग निर्माण भइरहेको हो । पदयात्रा गर्न रुचाउने पर्यटकलाई लक्षित गर्दै सिद्ध मकरीकोट पदमार्ग निर्माण विगत दुई वर्षदेखि जारी छ । 

 

कूल ८ हजार २ सय ८२ खुडकिलासहितको पदमार्ग निर्माणको काम ठेक्का मार्फत गरिँदै छ । हालसम्म १ हजार ४ सय ७४ मिटरमा ३हजार ७ सय खुट्किला निर्माण भइसकेको अपिहिमाल गाउँपालिकाका इञ्जिनियर रामचन्द्र सिंह ठगुन्नाले जानकारी दिए । यो सिँढी ३ किलोमिटर लामो निर्माण हुनेछ । 

 

चालू आर्थिक वर्षमा ४८ लाखरुपैयाँ लागतमा नयाँ ठेक्का सम्झौताको तयारी भएको बताइएको छ । हालसम्म सिँढी निर्माणमा ३ करोड ३० लाख रुपैयाँ खर्च भइसकेको इञ्जिनियर ठगुन्नाले बताए । 

 

यो वर्षबाटै पदमार्गको दायाँबायाँ वृक्षरोपण गरिँदै छ । अपिहिमाल गाउँपालिकाका स्थानीयलाई आफन्तको मृत्यु, जन्महुँदा स्मरणका रूपमा सिँढीको दायाँबायाँ रुख रोप्न लगाइने योजना छ ।


पुरानो बाटो निकै जोखिम थियो । पहिरो र ढुङ्गा खस्ने डर हुन्थ्यो भने अहिले निर्माण गरिएको पदमार्गले यात्रुलाई सुरक्षित अनुभूति गराएको छ । हिँड्नलाई सजिलो हुने र समय पनि कम लाग्ने भएकाले यो पदमार्ग आकर्षक बनेको छ ।