close

सौराहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

सौराहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

Trulli
ADVERTISEMENT

चितवन - कोरोना संक्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् ।


क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताए । उनले भने, ‘व्यवसायको प्रकृतिअनुसार २० देखि ३० प्रतिशतसम्म छुट समावेश गरेर एक साताभित्र प्याकेज सार्वजनिक गर्छाैं ।’ 


लकडाउनले थला परेका सौराहाका व्यवसायीले सन् २०२० मा सरसफाइ र सम्पूर्ण तयारी गर्ने, सन् २०२१ मा प्रचारप्रसार गरी सन् २०२२ मा पर्यटन व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउने गृहकार्य थालेका छन् । भट्टराईले देशका प्रमुख सहरमा घुमाैं चितवन अभियानका साथ जाने तयारी भइरहेको बताए । 


आउँदो दुई वर्षसम्म आन्तरिक पर्यटकको भरमा व्यवसाय टिकाइराख्ने व्यवसायीको योजना छ । ‘कमाउनुभन्दा पनि व्यवसाय टिकाउन हामी लागिपरेका छौं,’ भट्टराईले भने, ‘दुई वर्षपछि हामी पूर्ववत् अवस्थामा फर्किन्छौं ।’ 

 

रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले सुरक्षाको मापदण्ड पूर्ण रुपमा अपनाएर व्यवसाय सञ्चालन गर्न अनुरोध गरिन् ।  रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) का अध्यक्ष दीपेन्द्र खतिवडा साताको दुई दिन बिदाको निर्णय भए पर्यटन व्यवसायमा केही सहयोग पुग्ने सुनाउँछन् । सन् २०२२ सम्म विदेशी पर्यटक आउने सम्भावना कम भएकाले देशदर्शन अभियान चलाउनुपर्नेमा उनको जोड छ । 

 

युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठ, साना पर्यटन व्यवसायी संघका अध्यक्ष सरस्वती चालिसेलगायतले सौराहामा कोभिड नियन्त्रणका लागि सरकारले लागू गरेको सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय सुरु भएकाले सन्देश प्रवाह गरिदिन अनुरोध गरे ।


सौराहामा १ सय २० होटल र सय हाराहारी रेस्टुराँ छन् । सौराहाका होटलमा ५ हजार ५ सय क्षमताका कोठा छन् । गत चैत ११ बाट बन्द रहेका होटलमा  असोज १ बाट सरसफाइसँगै सञ्चालन तयारी भइरहेको छ । 


संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार आधा हाराहारी होटल खुलेका छन् । पुनः निषेधाज्ञा हुने हो कि भन्ने चिन्ताले सम्पूर्ण व्यवसायी पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । लकडाउन अवधिमा बीचको समय १५ दिन होटल खुल्दा ठूलो नोक्सान भएकाले पुनः सञ्चालन गर्न व्यवसायी हच्किएका हुन् । 


 चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटक बस्ने मुख्य ठाउँ सौराहा हो । निकुञ्जले जीप सफारीबाहेक अन्य पर्यटकीय गतिविधि खुला गरेको छ ।