close

शहीदका सम्झनामा अत्याधुनिक पार्क बन्दै

शहीदका सम्झनामा अत्याधुनिक पार्क बन्दै

Trulli
ADVERTISEMENT

जयमान बुढा मगर

रुकुम (पूर्व)– सिस्ने गाउँपालिका– २ मनोरम नेतामा अत्याधुनिक शहीद पार्क बन्दै छ । तत्कालीन माओवादी जनयुद्धका क्रममा शहीद बनेकाहरूको सम्झनामा अत्याधुनिक शहीद पार्कसहितको बगैँचा निर्माण गरिने भएको हो । 

नेता रमनणीय स्थानमा रहेको छ, जहाँ जानेले छुट्टै आनन्द पाउँछन् । गाउँपालिका आफैँ र प्रदेश तथा संघीय सरकारसँग पहल गरेर सुन्दर पर्यटकीय स्थल नेतामा शहीद पार्क निर्माण गरेर थप आकर्षक स्थल बनाउन लागिएको हो । १० वर्षे जनयुद्धका क्रममा यस वडाका १४ जनाले ज्यान गुमाएका थिए ।

यातायातको पहुँच पुग्न सकेमा चीनसँगको सिमाना रहेको डोल्पालगायत अन्य जिल्लाका पर्यटक पनि यस स्थानमा आउन सक्ने सम्भावनालाई मध्यनजर गरेर शहीद पार्क निर्माण हुँदै छ । अत्याधुनिक नेता शहीद पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाई आवश्यक भौतिक निर्माणका काम थालनी गरिएको छ ।  

आर्थिक वर्ष २०७५÷०७६ मा गाउँपालिकाको २७ लाख रुपैयाँ बजेटले नौ लाख रूपैयाँको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएकामा पहिलो चरणको कामको थालनीमा स्थानीय स्रोत, साधनबाट एक हलसहित दुई कोठाको घर बनाइएको छ । त्यसैगरी पार्क बनाइने क्षेत्रलाई संरक्षण गर्न र विभिन्न भौतिक संरचना निर्माणका लागि मेसिनरी पर्खाल उठाउने काम भएको छ । 

त्यसैगरी चालू आर्थिक वर्षमा सांसद विकास कोषको ५० लाख रुपैयाँ बजेटबाट उक्त संरचनाको निर्माण, बगैँचा निर्माण, वडाका १४ जनाको शालिक निर्माणका लागि मेसिनरी पर्खाल उठाउनेलगायत डीपीआरअनुसार संरचना निर्माण गरिने पहिलो रूपको भौतिक निर्माण गरिएको छ । 

जनयुद्धका बेलामा शहादत प्राप्त गर्ने वडाका शहीदको शालिक, गाउँपालिकाभरका शहीदको ताम्रपत्रमा, शिलालेखमा सम्झना, मौलिक कला र इतिहासको संरक्षणका लागि भवन निर्माणका साथै व्यावसायिक पर्यटकीय क्षेत्रको विकासका लागि अत्याधुनिक नेता शहीद पार्क निर्माण हुने वडा अध्यक्ष जीवन केसीले बताए ।

सोही वडाको तिपतारादेखि नेतासम्मको दूरी साढे छ सय मिटर रहेको छ । ‘उक्त ठाउँबाट जानलाई रेलिङसहितको पक्की सिँढी र पदमार्ग निर्माण हुनेछ’, वडा अध्यक्ष केसीले भने, ‘नेता र तिपताराको बीचमा शौचालय, प्रतीक्षालय, पिउने पानीको धारा निर्माण हुनेछन् ।’ पदमार्ग क्षेत्रभरमा बगैँचा निर्माण हुने बताइएको छ । 

चालू आर्थिक वर्षमा वडाको चार लाख, गाउँपालिकाको ५० लाख, प्रदेश सरकारको ६० लाख गरी एक करोड १४ लाख रुपैयाँ बजेटले काम हुने वडा अध्यक्ष केसीले जानकारी दिए । पूर्ण रूपको संरचनामा प्रवेशद्वार, टिकट घर, विद्युत्, पिउने पानी, आरामदायी प्रतीक्षालय, पुराना कला, वस्तु संरक्षणका लागि संग्रहालय, शहीद पार्कमा सबैको मन लोभ्याउने आकर्षक भौतिक संचनाको निर्माण गरी नमुना शहीद पार्क निर्माण गरिने योजना रहेको वडा अध्यक्ष केसीको भनाइ छ । 

पूर्ण रूपमा संरचना निर्माण भयो भने आन्तरिक र बाह्य पर्यटकका कारण अन्य पेसा, व्यवसाय पनि फस्टाउने र यहाँका नागरिकको आयस्रोत राम्रो हुने अपेक्षा स्थानीयको छ ।