close

घलेगाउँका होमस्टे खुले 

घलेगाउँका होमस्टे खुले 

Trulli
ADVERTISEMENT

लमजुङ - कोरोना महामारीका कारण आन्तरिक पर्यटक प्रवेशमा रोक लगाइएको घलेगाउँका होमस्टे खुलेका छन् । लमजुङको क्ह्वोलासोथfर गाउँपालिका–३ मा पर्ने स्मार्ट भिलेज घलेगाउँ आन्तरिक पर्यटकका लागि खुला गरिएको हो ।


लकडाउनका कारण सुस्ताएको पर्यटनलाई अघि बढाउन पर्यटन व्यवसायीले आन्तरिक पर्यटकलाई प्रवेश खुला गरिएको बताएका हुन् । 


घलेगाउँ यसै साताबाट पर्यटकका लागि खुला गरिएको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष एवं क्ह्वोलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए । ‘गाउँमा रमाइलो हुन थालेको छ । जिल्लाभित्रका र अन्य जिल्लाका पर्यटक विस्तारै आउन थालेका छन्’, अध्यक्ष घलेले भने । 


लकडाउनसँगै घरबास व्यवसाय संकटमा परेकाले पर्यटनलाई खुला गरिएको उनले भनाइ छ । उनका अनुसार घलेगाउँ आउने पर्यटक र स्थानीयले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । थर्मल गर्नमार्फत ज्वरो परीक्षण गरेर मात्र गाउँ प्रवेश गराइने घले सुनाउँछन् । 


गाउँ खुला गरेसँगै दैनिक ८/१० पर्यटक आउन थालेको होमस्टे सञ्चालकहरूले बताए । कोरोनाले सुस्ताएको व्यवसाय पुनः सुरु गर्न पाउँदा होमस्टे सञ्चालक खुसी छन् । 


घलेगाउँ सञ्चालक समितिका अध्यक्ष गंगाबहादुर घलेका अनुसार गाउँ आउने पर्यटकलाई सुरक्षा सावधानी अनिवार्य गरिएको छ । ‘पर्यटक सम्पर्क कार्यालय अगाडि साबुनपानीले हात धुने व्यवस्था गरेका छौं । होमस्टे सञ्चालन भएका घरमा पनि साबुनपानी र स्यानिटाइजरको व्यवस्था गरेका छौं’, गंगाबहादुरले भने । पर्यटन समितिका सचिव उमलबहादुर विकका अनुसार सुरक्षा सतर्कता अपनाएर मात्र पर्यटकलाई गाउँ प्रवेश गराइनेछ । 


पर्यटकीय घलेगाउँमा ०५६ बाट पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित ०५७ बाट होमस्टे सञ्चालनमा आएका थिए । १२ घरबाट सुरु गरिएको होमस्टे अहिले ३४ घरमा सञ्चालन गरिएको छ ।


घलेगाउँबाट माछापुछ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेशलगायतका दर्जनौं हिमशृंखला अवलोकन गर्न सकिन्छ । घलेगाउँ आउने पाहुनालाई गुरुङ संस्कृति घाटु, सोरठी, कृष्णचरित्रलगायतका पौराणिक नृत्य देखाउने गरिन्छ । 


गाउँमा नमुना चिया बगान, तिजे उत्तरकन्या मन्दिर छ । गाउँबाट हिमाल, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी पार्क, सार्क भिलेज पर्यटन संग्रहालय, स्वर्गभूमि रंगाशाला, क्व्होइँबो धीं पार्क हेर्न सकिन्छ ।


पर्यटकीय सेवा–सुविधा, स्थानीय कला–संस्कृतिको प्रवर्द्धन  तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा घलेगाउँ परेको छ ।


गाउँमा आउने पर्यटकलाई लोकल खसी, भेडा, कुखुराको मासु खुवाउने गरिन्छ । माछाको सुकुटी, लोकल रक्सी, वन निउरो, कुरिलो, सिस्नो, बडमले, खोले, रायो सागको स्वाद चाख्न पाउँछन् । घलेगाउँ लमजुङको बेंसीसहरदेखि २४ किलोमिटको दूरीमा पर्छ ।