close

सुनसान रारामा बढ्याे चहलपहल 

सुनसान रारामा बढ्याे चहलपहल 

Trulli
ADVERTISEMENT

मुगु - कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा यतिबेला पर्यटकको पर्खाइमा छ । रारा फेरो मार्ने समय पनि यतिबेलै हो ।  राराको मुर्माटप हिमालसम्मै पुगेर ताल तथा त्यस वरिपरिको दृश्यावलोकन गर्न सकिने भएकाले पनि यो सिजन भ्रमणका लागि उपयुक्त समय भएको स्थानीय सुनाउँछन् । 


नेपालकै सबैभन्दा ठूलो रारा अर्थात् स्व. राजा महेन्द्रले आफ्नै नामबाट जुराएको महेन्द्र ताल कोरोना महामारीका कारण ७  महिनासम्म निदाएरै बस्यो । हिजोआज भने ब्युँझिन सुरु गरेको छ । 


तालको फेरो मार्न आउने आगन्तुकहरू बढेका छन् भने स्वदेश तथा विदेशका सीमित पर्यटक पनि रारा आउन थालेको रारा डाँफे गेस्टहाउस सञ्चालिका पूर्णदेवी वमले बताइन् ।


रारा पुग्दैमा सबै मनमोहक दृश्य देख्न पाइँदैन । त्यसका लागि रारा तालबाट १ घन्टा उकालो चढेर अर्थात् घोडामा रमाउनेहरू मुर्माटप जान सक्छन् । राराको मनोरम दृश्यसँगै कान्जिरोवा, सिस्ने सैपाललगायत कर्णालीर सुदूरपश्चिम प्रदेशका मनै लोभ्याउने दृश्य अघाउन्जेल हेर्न पाइन्छ ।


राराले एक दिनमा धेरैचोटि रङ फेर्छ । कहिले नीलो, कहिले बैजनी, कहिले सिम्रिक, कहिले आकासेजस्तो अनि कहिले खैरो । मौसमअनुसार दिनमै ४/५ पटक फेरिने रारातालको  पानीको रङ मिश्रित देखिन्छ । सिन्जे र कान्जिरोवा हिमालको छायानाथको छायाले  अनि रारा साँच्चिकै धर्तीको स्वग र  स्वर्गको अप्सराजस्तो लाग्छ ।


कोराना कहरकै बीच रारा घुम्न आएका आन्तरिक पर्यटक अजबहादुर शाहीको अनुभव पनि यस्तै छ । ‘रारा पुगेर मात्रै यहाँको सौन्दर्य थाहा नहुने रहेछ । साँच्चै स्वर्गको आनन्द लिन तालको दृश्यावलोकनका लागि मुर्माटप पुग्नैपर्छ । त्यहाँ पुगेपछि हिमाल, पहाड, नदी–नाला, जडीबुटी, वन्यजन्य, चराचुरुंगी  अवलोकनले झनै मन फुरुंग बनाउँदो रहेछ ।’


समुद्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ ५ किलोमिटर, चौडाइ ३ किलोमिटर मिटर र गहिराइ १ सय ६७ मिटर छ । तालमा दुर्लभ असला जातका माछा, रानीट्राउट, भ्यागुतालगायत जलचर र ३ सय प्रजातिका चरा पाइन्छन् । 


यस क्षेत्रमा कस्तूरी, दुर्लभ रेडपाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ ।