close

तीर्थालु बोलाउने तयारीमा तारकेश्वर धाम

तीर्थालु बोलाउने तयारीमा तारकेश्वर धाम

Trulli
ADVERTISEMENT

काठमाडौं - काठमाडौंको तारकेश्वर नगरपालिकाभित्र निर्माण भइरहेको तारकेश्वर धाम पुनर्निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको छ । काठमाडौं महानगरको अनुदानमा सुरु गरिएको धाम निर्माण करिब ४० प्रतिशत सकिएको  तारकेश्वर नगरप्रमुख रामेश्वर बोहराले जानकारी दिए । 


महानगरले नगर-नगर साझेदारी कार्यक्रमअन्तर्गत २७ माघ ०७५ मा सम्झौता गरेर तारकेश्वर नगरलाई १ करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराएको थियो । 

 

त्यस रकममा तारकेश्वरले १ करोड रुपैयाँ थपेर २ करोड लागतमा धाम क्षेत्रमा पूर्वाधार निर्माण भइरहेको अवलोकन भ्रमणका क्रममा प्रमुख शाक्य र उपप्रमुख खड्गी श्रेष्ठलाई तारकेश्वर नगरप्रमुख बोहराले जानकारी दिएका थिए ।

 

काठमाडौं महानगरले जिल्लाका सबै नगरलाई सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवद्र्धन र पार्क निर्माणका लागि प्रस्तावित योजनाका लागि जनही १/१ करोड रुपैयाँ उपलब्ध गराएको छ । यस क्रममा तारकेश्वर नगरले वडा-३ तारकेश्वर धाम निर्माण गर्ने योजना महानगरमा पठाएको थियो ।


चारैतिर सार्वजनिक जंगल रहेको भूभागको बीचको करिब १० रोपनी सार्वजनिक जग्गामा महादेवको मूर्तिमा पुग्ने सिँढी, सन्तमहन्त बस्ने कुटी, पोखरी, सत्तल, प्रवेशद्वारलगायतका संरचना निर्माण भइरहेका छन् । 


काठमाडौं महानगरको बालाजु बाइपासबाट करिब १५ किलोमिटर दूरीको यात्रामा पाँचमाने पुगिन्छ । त्यहाँबाट आधा घन्टाको पैदल यात्रापछि धाम क्षेत्रमा पुगिन्छ । शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै धाम पुग्न सकिन्छ । 


यस ठाउँमा सती देवीको दायाँ तिघ्रो पतन भएको विश्वास गरिन्छ । यही विश्वासका आधारमा स्वस्थानी व्रतका समय यस ठाउँमा मानिसको बढी भीड लाग्ने गर्छ । त्यस्तै, जनै पूर्णिमाका दिन यहाँको पोखरीमा स्नान गर्न मानिसको बाक्लो उपस्थिति हुने गरेको छ ।  


काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ मंगलबार तारकेश्वर धाम पुगेका थिए ।  उनीहरूसँग तारकेश्वर नगरका प्रमुख रामेश्वर बोहरा र धाम रहेको वडा-३ का अध्यक्ष, वडा सदस्यसहित दुवै नगरका अधिकारीहरू सहभागी थिए । 


तारर्केश्वर धामको  स्थलगत अवलोकनपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भने, ‘पूर्वाधार निर्माण सीमाविहीन काम हो । छिमेकी नगरको समृद्धिलाई सँगै लिएर जाने नीतिअनुरुप हामीले सहयोग गरेका हौं । अहिलेको प्रगतिलाई थप गर्दै तोकिएको समयमा योजना सम्पन्न गर्नुपर्छ ।’ 


कामको प्रगतिका आधारमा महानगरले थप सहयोग गर्ने नगरप्रमुख शाक्यले प्रतिबद्धता जनाए । तर, तोकिएको लक्ष्य पूरा हुन सकेन भने थप सहयोग गर्न कठिन हुने उनको भनाइ थियो । 


त्यस क्षेत्रमा पुग्न सार्वजनिक शौचालय, आराम गर्ने ठाउँलगायतका पूर्वाधार बनाइनेछन् । तारकेश्वर नगरप्रमुख बोहराले भने, ‘काठमाडौं महानगरले उपलब्ध गराएको सहयोगले तारकेश्वर धामलाई पर्यटकीय गन्तव्य बनाइनेछ ।’