close

लोकतान्त्रिक उद्यानमा पर्यटककाे चहलपहल 

लोकतान्त्रिक उद्यानमा पर्यटककाे चहलपहल 

Trulli
ADVERTISEMENT

काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका -१ को कागेश्वरीमा रहेको लोकतान्त्रिक सहिद उद्यान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । काठमाडौंको कोलाहल भीडबाट अलिकति फुर्सद निकालेर घुम्ने छोटो समयमा रमाउनका लागि सो स्थान उपर्युक्त मानिन्छ । 


बिदा वा फुर्सद समय हाइकिङ जाने संस्कृतिमा समेत विकास भएको छ । सहरको धुवाँधुलो र कोलाहलबाट दिक्क भइरहँदा शरीर र मष्तिस्क दुवैलाई पुनर्ताजगी बनाउनकै लागि पनि धेरैजसो मानिस पदयात्रामा जाने गर्छन् ।


हाल कोरोना महामारीका कारण पदयात्रा, भ्रमण अवरुद्ध भए पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई काठमाडौं नजिकका डाँडाकाँडाका भ्रमणमा जान थालेका छन् । एकदिने भ्रमणका लागि उपत्यकाबासीको रोजाइमा कागेश्वरी मनोहरा वडा-१ मा रहेको कागेश्वरीधाम र लोकतान्त्रिक सहिद उद्यान पर्न थालेको छ ।


काठमाडौंको रत्नपार्कबाट करिब २० किलोमिटर र गागलफेदीबाट ५ किलोमिटरको दूरीमा रहेको  लोकतान्त्रिक सहिद उद्यानमा अहिले आन्तरिक पर्यटकको चहलपहल देख्न सकिन्छ । 


सो क्षेत्रमा पर्यटकको सहजताका लागि सडक निर्माणदेखि अन्य पूर्वाधार निर्माणले गति लिएको छ । उक्त क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलको रूपमा विकास गर्दै जाने योजना बनाएको कागेश्वरी मनोहरा नगरपालिका वडा-१ का वडाध्यक्ष मुकुन्दप्रसाद गजुरेलले बताए ।

 

उनले भने, ‘केही वर्षअघिसम्म बाँझो रहेको सो स्थान जनप्रतिनिधि आएपछि पूर्वाधार विकास गर्ने क्रममा उद्यान निर्माण गरिएको हो ।’  गागलफेदीदेखि करिब दुई घन्टाको हिँडाइमा पुग्न सकिने सो स्थानमा  आन्तरिक पर्यटक घुम्न आउने गरेको स्थानीय बताउँछन् । यसैलाई लक्षित गरेर अहिले सो क्षेत्रमा पर्यटक सुविधाका लागि नयाँ होटल, विश्रामस्थलसमेत खुल्न थालेका छन् ।

 

काठमाडौंबाट नजिकको दूरीमा रहेको सो स्थानबाट सूर्योदय र सूर्यास्तका साथै उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । उकालो चढ्दा थकाइ लागे पनि मनमोहक दृश्य र प्राकृतिक सुरन्दता सबैको मानसपटलमा ताजा हुने हुँदा उद्यान पुग्नेहरूको भीड बढेको छ ।


कागेश्वरीको लोकतान्त्रिक सहिद उद्यान संंघीय सरकारको २० लाखबाट निर्माण भएको हो । त्यसमा स्थानीय र प्रदेश सरकारले समन्वय गरेका छन् ।


विशेषगरी काँठ क्षेत्रको प्राकृतिक सुन्दरता अवलोकन गर्दै पुग्न सकिने सो स्थान नजिकै कागेश्वरी मनोहराको नामकरणसमेत भएको कागेश्वरी महादेवको मन्दिरसमेत छ । यो मन्दिरमा भाद्र शुक्लअष्टमी अर्थात् कागेअष्टमीको दिन मेला लाग्ने गर्छ ।

 

सहिद स्तम्भ निर्माण गर्ने, अन्य मनोरञ्जन स्थल निर्माण गर्ने र कागेश्वरी मन्दिर क्षेत्रको पनि विकास गर्दै जाने तयारी नगरपालिकाको छ ।