close

हेलम्बुमा यसरी बन्दै छ संसारकै दोस्रो ठूलो ग्रेट वाल (भिडियाे खबर)

वार्षिक १५ लाख बढी पर्यटक भित्रिने अपेक्षा

हेलम्बुमा यसरी बन्दै छ संसारकै दोस्रो ठूलो ग्रेट वाल (भिडियाे खबर)

वार्षिक १५ लाख बढी पर्यटक भित्रिने अपेक्षा

ADVERTISEMENT

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका आफैँमा प्रमुख पर्यटकीय क्षेत्र हो । गुम्बाको गाउँ, स्याउको प्रख्याति सहरले चिनिने हेलम्बु क्षेत्र पछिल्लो समय अन्य कृषि, पर्यटनका लागिसमेत चर्चित छ ।

 

झनै विश्वकै लामो मानिएको चीनको ग्रेटवालको झल्को दिने ग्रेट ट्रेल निर्माणको काम सुरु गरेयता हेलम्बु गाउँपालिकाले अर्काे चर्चा कमाएको छ । यो ग्रेट ट्रेल चीनको ग्रेट वालपछिकै विश्वकै अर्काे ठूलो वाल मानिन्न्छ । संघीय संरचनापछि ६० किलोमिटर लामो आफ्नो स्थानीय तहलाई घेर्ने वाल निर्माण हेलम्बुले गरेको नेपालमै पहिलो पटक हो । 

 

पर्यटकीय महत्व बोकेको सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिकालाई विश्वकै लामो मानिएको चीनको ग्रेटवालजस्तै ग्रेट ट्रेलले घेरिने भएको छ । ग्रेट हिमालयन ट्रेल नाम दिइएको सो पर्खालले गाउँपालिकाको सबै वडा र सबैजसो धार्मिक तथा पर्यटकीय महत्वका स्थान भेटिने भएकोले पनि यसलाई गाँउपालिकाले विशेष महत्त्वका साथ निर्माण गरिरहेको हो । 

 

६० किलोमिटर लम्बाइमा निर्माण हुने पदमार्गको पहिलो चरणमा नमुनाको रूपमा हेलम्बुको घोप्टेघ्याङ, शेर्माथान, पाल्चोक र नागीडाँडासहितका ठाउँमा निर्माण सम्पन्न गरिसकिएको छ । त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारबाट गरी १ करोड रुपैयाँ खर्च भएको छ । 

 

साढे ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको पर्खालका लागि यो वर्ष पनि स्थानीय, प्रदेश र संघीय सरकारबाट गरी २ करोड रुपैयाँभन्दा बढी रकम खर्च हुनेछ । यो ट्रेल निर्माण भइसके पनि देशी-विदेशी पर्यटकहरू यहाँ आउने र यसबाट जीवनस्तर सुधार हुने अपेक्षा गरिएको हेलम्बुका स्थानीय बताउँछन् ।


यो ट्रेल निर्माणको अर्को महत्त्वपूर्ण पक्ष भनेको स्थानीय सामग्रीको प्रयोग पनि हो । यो वाल लगाउन सिमेन्ट र त्यसको ढुवानीबाहेक सबै सामग्री स्थानीय स्तरकै प्रयोग गरिएका छन् भने जनशक्ति पनि स्थानीय नै प्रयोग गरिएको हेलम्बु गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुकलाल तामाङले जानकारी दिए ।


ग्रेट ट्रेल हुँदै रसुवाको गोसाइँकुण्डसमेत पुग्न सकिन्छ भने काठमाडौंको माउन्टेन फ्लाइटबाट देखिनेमध्ये ८० प्रतिशत हिमाल यो ग्रेट ट्रेलबाट देख्न सकिनेछ । काठमाडाैंबाट करिब ५० किलोमिटरको दूरीमै यो स्थानमा पुग्न सकिने भएकाले निर्माण सम्पन्न भइसकेपछि वार्षिक १५ लाखभन्दा बढी पर्यटकले यसको अवलोकन गर्ने आकलन रहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।


गञ्जलापास, सिमिसिदाङ हिमाल मात्रै नभई ह्योल्मो संस्कृति झल्कने एकीकृत बस्ती अनि यहाँ रहेका पर्यटकीय गाउँहरूले पर्यटन प्रवर्द्धनलाई थप मद्दत पुर्‍याएका छन् । गुम्बाको गाउँ भनेर चिनिइने हेलम्बुलाई यहाँ रहेका होमस्टेले थप आकर्षित बनाएको छ । केही वर्षअघि नेपाली गीतमा समेत गुञ्जने स्याउ खेती र चिया खेती पनि अर्काे महत्वपूर्ण पर्यटन आकर्षणको केन्द्र हो । यो ट्रेल  निर्माण सम्पन्न भएमा यसले हेलम्बु क्षेत्र र सिन्धुपाल्चोकको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुर्‍याउने देखिन्छ ।