close

रामनदीधामलाई पर्यटन गन्तव्य बनाउन जुट्यो गल्याङ 

रामनदीधामलाई पर्यटन गन्तव्य बनाउन जुट्यो गल्याङ 

Trulli
ADVERTISEMENT

स्याङ्जा- गण्डकी प्रदेशको प्रमुख नाका गल्याङ नगरपालिका वडा नम्बर १ रामनदीधाम राम्दीलाई पर्यटन क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले २६ करोड रुपैयाँको परियोजना तयार पारिएको छ । 


सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पोखरा खण्डको मध्य भागमा पर्ने राम्दीमा पर्यटन क्षेत्रको विकास गर्न गल्याङ नगरपालिकाले २६ करोड ६० लाख रुपैयाँको विस्तृत परियोजना (डीपीआर) तयार पारेको हो । 

 

राम्दीमा भएको १० लाख दीप प्रज्वलन, लघुरुद्री एवं १ सय ८ धाराको शिलान्यास कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले गण्डकी प्रदेशको मुहारको रूपमा रहेको राम्दीको विकासका लागि योजनाबद्ध ढंगले लागिरहेको बताए । 

 

यो वर्ष ३ करोड रुपैयाँको बजेटमा काम सुरु गरिएको र थप ३ करोड पनि योसँगै व्यवस्थापन हुने जानकारी उनले दिए । शनिबार १ सय ८ सहश्र धारा एवं बायो ग्यास शिलान्यास गरिएको छ ।

 

मुक्तिनाथको झल्को दिने गरी १ सय ८ धारा निर्माण गर्न लागिएको हो । यस्तै, स्थानीय गौशालाको सदुपयोग गर्दै आधुनिक बायोग्यास प्लान्ट पनि निर्माण गरिनेछ ।

 

प्रदेशबाट प्राप्त हुने १५ लाख रुपैयाँमा नगरपालिकाले थप गरी बायोग्यास निर्माण गरिने नगरप्रमुख अधिकारीले बताए ।


‘२६ करोड रुपैयाँको बृहत परियोजनामा आधुनिक बगैँचा, भवन निर्माण, स्विमिङ पुलसहितका योजना राखिएको छ’, उनले भने ।


नगरप्रमुख अधिकारीले बृहत योजना सम्पन्न गर्न सम्बन्धित मन्त्रालय एवं विभागमा सम्झौता भइसकेको बताए ।

 
उनले भने, ‘यहाँबाट दैनिक सयौँ पर्यटक पोखरा र लुम्बिनी आउजाउ गर्छन् । यस ठाउँमा ती पर्यटकलाई बस्ने वातावरण बनाउने काममा लागेका छौँ ।’ 


नगरप्रमुख अधिकारीले राम्दीदेखि सेतीवेणीसम्म दैनिक बस सञ्चालन गर्ने गरी योजना बनेकाले गल्याङलाई धार्मिक र पर्यटनको केन्द्रको रूपमा विकास गरिने जानकारी दिए । 


कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिकले तयार पारेका १० लाख बत्ती बालियो । शान्ति र स्थायित्वको कामना एवं धार्मिक क्षेत्रको विकासका लागि दीप प्रज्वलन गरिएको हो । लघुरुद्राधिभिषेक (लघुरुद्री) पनि गरिएको छ । 

 

स्थानीय रामनदीधाम गुरुकुलका बटुक एवं मालुंगा महिला साना किसान कृषि सहकारी संस्थाका महिलाले भजनकीर्तन गरेका थिए ।

 

कार्यक्रममा नगर उपप्रमुख देवीसरा थापा, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारी, वडा नम्बर १ का अध्यक्ष गणेशप्रसाद बस्याल, वडा नम्बर २ का अध्यक्ष इवप्रसाद कर्माचार्य, वडा नम्बर ४ अध्यक्ष नेत्रप्रसाद पाण्डे, वडा नम्बर ७ का अध्यक्ष रामवीर गुरुङलगायत सहभागी थिए ।