close

विपद् जोखिम न्यूनीकरण गर्न पालिकाबीच सहकार्यमा जोड

नमोबुद्धमा सुरक्षित पर्या–पर्यटन उच्चस्तरीय बैठक 

विपद् जोखिम न्यूनीकरण गर्न पालिकाबीच सहकार्यमा जोड

नमोबुद्धमा सुरक्षित पर्या–पर्यटन उच्चस्तरीय बैठक 

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिकामा सुरक्षित पर्या–पर्यटनसम्बन्धी उच्चस्तरीय बैठक सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिकासहित काभ्रेको धुलिखेल र पनौती नगरपालिकाको सहभागितामा बैठक सम्पन्न भएको हो ।

 

नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा सम्पन्न बैठकमा नेपालमा विपद् जोखिम संवेदनशील पर्या–पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रसँग साझेदारी परियोजनाका विषयमा छलफल भएको थियो । 

 

यो परियोजना वातावरण तथा बाल सरोकार संस्था इको नेपालको साझेदारीमा काभ्रेका तीन नगरपालिका धुलिखेल पनौती, नमोबुद्ध तथा भक्तपुरको चाँगुनारायण गरी चार वटा पालिकामा सञ्चालनमा छ ।

 

अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा २०७७ असोजबाट सुरु भएको परियोजनाको म्याद आउँदो १३ कात्तिकदेखि सपापन हुँदै छ । चाँगुनारायण–नगरकोट–बनेपा–धुलिखेल र नमोबुद्ध हुँदै पनौतीको बल्थलीसम्मको पदमार्गलाई लक्षित गरेर परियोजना सञ्चालन गरिएको हो ।

 

बैठकमा सहभागी स्थानीय तहका प्रमुखहरूले पर्या–पर्यटनको प्रवद्र्धन तथा विपद् जोखिम न्यूनीकरण क्षेत्रमा पालिकाहरूबीच आपसी सहकार्य हुनुपर्नेमा जोड दिए ।

 

बैठकमा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जुले २०७२ को भूकम्पपछि पर्यटन क्षेत्रमा धेरै क्षति पुगेको बताउँदै पर्यटकीय क्षेत्रको विकासका लागि नयाँ आधार खडा गर्नुपर्ने आवश्यकता औँल्याए ।

 

नेपाली मौलिकता झल्कने तथा वातावरणमैत्री पर्यटन पूर्वाधार निर्माण, आवश्यक पदमार्गको पहिचान र सञ्चालन तथा पर्यटकका लागि सेवा–सुविधा वृद्धि गर्न सके पर्यटनबाटै समृद्धितर्फ जान सकिने व्याञ्जुले बताए । चार पालिकाबीच भएको अहिलेको सहकार्यले प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गर्न मद्दत पुगेको उनको भनाइ छ ।

 

इको नेपालसँगको साझेदारीमा सञ्चालित परियोजनाबाट समृद्ध नगर कसरी बनाउन सकिन्छ भन्ने आधार प्रस्ट भएको एवं अब पालिकाहरूले सोहीअनुसारका कार्यक्रम र बजेट तर्जुमा गरेर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । 


बैठकमा पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले चार पालिकाबीचको सहकार्यबाट सुरु गरिएको पर्या–पर्यटन र विपद् जोखिम न्यूनकरणसम्बन्धी कार्यक्रम आगामी दिनमा पनि निरन्तर हुने जानकारी दिए ।

 

पालिकाहरूबीचको सहकार्यले यो क्षेत्रमा पर्यटकीय स्थलको विकास र पर्यटक आकर्षित गर्न मद्दत पुग्ने उनको बुझाइ छ । बैठकमा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्धसहितका क्षेत्रको पर्यटकीय गुरुयोजना निर्माण तत्कालै सुरु गर्ने घोषणा गर्दै यसका लागि धुलिखेल, पनौतीलगायत नगरपालिकासँग सहकार्य हुने बताए । 

 

नमोबुद्धमा पर्यटक आकर्षित गर्न र पर्यटकीय स्थलको विकासका लागि विगतदेखि नै नगरपालिकाले काम गरिरहेको र इको नेपालसँगको साझेदारीले त्यसमा थप टेवा पुगेको तिमल्सिनाको भनाइ छ ।  बैठकमा पूर्वमुख्यसचिव सोमलाल सुवेदी, इको नेपालकी कार्यकारी निर्देशक अनिता न्यौपानेले परियोजनाका विषयमा बोलेका थिए ।


धुलिखेल नगरपालिका उपप्रमुख विमलाकुमारी चौलागाईं शर्मा, पनौती नगरपालिका उपप्रमुख गीता बञ्जारा, नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ, धुलिखेल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल, नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, पनौतीका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र अधिकारीलगायतको उपस्थिति थियो ।

 

बैठकले परियोजनाका विषयमा आउँदो १२ कात्तिकमा धुलिखेलमा राष्ट्रिय कार्यशाला आयोजना गर्नेलगायतका निर्णय गरेको छ । बैठकमा नमोबुद्धका वातावरण अधिकृत सन्तोष काफ्लेले सहजीकरण गरेका थिए ।


परियोजनाअन्तर्गत नमोबुद्ध नगरपालिका वडा नम्बर १ मा निर्माण गरिएको पीपलबोट चौतारोको उद्घाटनसमेत गरिएको छ । नेपाल नगरपालिका संघका अध्यक्ष व्याञ्जु, पनौती नगर प्रमुख न्यौपाने र नमोबुद्ध नगर प्रमुख तिमल्सिनाले संयुक्त रूपमा चौतारोको उद्घाटन गरे ।

 

इको नेपालको सहजीकरणमा युएसएआइडीको नेपाल परियोजना, नमोबुद्ध नगरपालिका र पीपलबोट चौतारो संरक्षण समितिको संयुक्त लगानीमा साना पहिरो नियन्त्रण कार्यसँगै उक्त चौतारो निर्माण गरिएको हो ।