close

हाँडीगाउँमा घरबास तालिम

हाँडीगाउँमा घरबास तालिम

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरको वडा नम्बर ५ मा होमस्टे (घरबास) पर्यटनसम्बन्धी आधारभूत तालिम सुरु भएको छ । २ दिन सैद्धान्तिक र २ दिन प्रयोगात्मक गरी ४ दिनको तालिम सञ्चालन हुनेछ । तालिममा ३० जना सहभागी छन् । पर्यटन मन्त्रालयअन्तर्गतको तारा गाउँ विकास समितिले आयोजना गरेको हो ।


तालिम उद्घाटन गर्दै काठमाडौं महानगर उपप्रमुख हरिप्रभा खड्गीले घरबास पर्यटनसँग पूर्वाधार, आर्थिक, सामाजिक र सांस्कृतिक विकासका पक्ष जोडिने भएकाले यसको प्रवद्र्धनका लागि महानगरको सहयोग रहने बताइन् । ‘घरबास पर्यटनले महिलाको आर्थिक विकास र आत्मसम्मान बढाउन सघाउँछ,’ उनले भनिन्, ‘काठमाडौंको मौलिक खाना, सत्कार र घुम्न सम्पदा पर्यटन प्रवद्र्धनका सम्पत्ति हुन् । वडा नम्बर ५ बाट थालिएको कार्यक्रम सहरी क्षेत्रमा विस्तार गर्न सकिन्छ ।’

 

तालिम संयोजक घनश्याम ढकालका अनुसार सहभागीलाई होमस्टे प्रवद्र्धन र बजारीकरण, पर्यटन प्रवद्र्धनका साधन र उपयोग, नेपालको सन्दर्भमा होमस्टे, होम स्टेसम्बन्धी कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार र सेवालगायत विषयमा सैद्धान्तिक ज्ञान दिइनेछ । यसैगरी सफल होमस्टेका व्यावसायिक सफलताका कथा, होमस्टे सञ्चालन र व्यवस्थापन, पाहुनाको स्वागत र विदाइ सत्कार, स्थानीय पर्यटकीय स्थल र सम्पदासँग होमस्टेको सम्बन्धलगायतलाई पनि सैद्धान्तिक ज्ञानको विषयमा राखिएको छ । 


प्रयोगात्मक कक्षामा पाकशिक्षाअन्तर्गत स्थानीय खाना, खानाको गुणस्तर निर्माण, स्वाद, सजावट र वास्नालगायत विषयका सीप सिकाइनेछ । हाँडीगाउँमा ११ वटा होमस्टे छन् । एउटा घरमा ४ वटासम्म कोठा प्रयोग गर्न सकिन्छ । हाँडीगाउँ सामुदायिक घरबास समितिकी अध्यक्ष शकुन्तता घिमिरेले १ दिनमा हाँडीगाउँ होमस्टेले करिब १५० पाहुनालाई व्यवस्थापन गर्ने बताइन् ।