close

पर्यटक बोलाउन अन्तुपोखरीमा डुंगा गुडाउँदै सूर्योदय 

पर्यटक बोलाउन अन्तुपोखरीमा डुंगा गुडाउँदै सूर्योदय 

Trulli
ADVERTISEMENT

इलाम– इलामको सूर्याेदय नगरपालिकाले अन्तुपोखरीमा डुंगा सञ्चालनमा ल्याएको छ । कोरोना महामारीले बन्द भएको डुंगा करिब दुई वर्षपछि मंगलबारदेखि सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । केही वर्ष अघिदेखि निजी क्षेत्रबाट पोखरीमा डुंगा सयर गराएर पर्यटकलाई मनोरञ्जन दिँदै आए पनि कोरोना महामारीमा बन्द भएको डुंगा नगरपालिका आफैंले सञ्चालनमा ल्याएको हो । 


आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न पोखरीमा पहिलो पटक नगरपालिका आफैंले डुंगा सञ्चालन गरेर आर्थिक स्रोत जुटाउन थालेको हो ।नगरप्रमुख रणबहादुर राई, वडाध्यक्ष मदुसूदन लामिछानेसहितको टोलीले पोखरीमा डुंगा चढेर कार्यक्रम सुरु गरे ।


डुंगा सञ्चालनमा ल्याइएपछि अन्तु घुम्न आउने पर्यटकले डुंगा चढेर अन्तु पोखरीको दृश्यावलोकन गर्न सक्नेछन् । नगरले तीन वटा डुंगा सञ्चालन सुरु गरेको नगरप्रमुख राईले जानकारी दिए । प्रमुख राईले उनले भने, ‘अन्य पर्यटकीय स्थलसँगै अन्तुपोखरीमा डुंगा पनि थपेका छौँ ।’


प्रमुख राईका अनुसार पर्यटन पूर्वाधार विकास गर्ने क्रममा नगरपालिकाले पोखरीमा डुंगा सञ्चालनमा ल्याउन करिब ५ लाख रुपैयाँ विनियोजन गरेको छ । एक पटक डुंगामा चढेर पोखरी फन्को मार्न ५० रुपैयाँ लाग्नेछ । डुंगा चढ्न १५ थान लाइफ ज्याकेट पनि व्यवस्था गरिएको छ ।

 
केही वर्षअघि निजी क्षेत्रले डुंगा सञ्चालन गर्दा सुरक्षा जोखिम देखिएको भन्दै नगरपालिकाले सञ्चालनको मापदण्ड बनाएको हो । तोकिएको मापदण्डअनुसार स्थानीयले नै जिम्मा लिएर डुंगा सञ्चालन गरेका थिए । कोरोना महामारीका कारण लामो समयदेखि डुंगा सञ्चालन बन्द थियो ।

 

सूर्याेदय अवलोकन स्थल अन्तुडाँडाको पहिचान हो । सूर्याेदय अवलोकनपछि अन्तुपोखरीमा डुंगाको आनन्द लिन सकिन्छ । चारैतिर चियाका बोट अवलोकन गर्दै पर्यटकले छुट्टै मनोरञ्जन लिन सक्छन् ।

 

मेची राजमार्गको कन्यामस्थित छिपिटारबाट अन्तु जाने बाटो छुट्टिन्छ । करिब १३ किलोमिटर दूरीमा अन्तुडाँडा पुगिन्छ । सडक कालोपत्रे छ । जिप, कार, भ्यान र मोटरसाइकलमा अन्तु पुग्न सकिन्छ ।