close

धार्मिक पर्यटक गन्तव्य बन्दै फक्ताङलुङ

धार्मिक पर्यटक गन्तव्य बन्दै फक्ताङलुङ

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– कुम्भकर्ण (फक्ताङलुङ) हिमशृंखला धार्मिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ । १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले यो हिमालका फेदीमा तपस्या गरेको पवित्र स्थल भएकाले अहिले आन्तरिक तथा बाह्य पर्यटकको धार्मिक आस्थाको स्थल बन्दै गएको हो ।


कञ्चनजंघा हिमालभन्दा धेरै पर्यटक कुम्भकर्ण (फक्ताङलुङ) मा जाने गरेको तथ्यांक सार्वजनिक भएको छ । कञ्चनजंघा हिमशृंखलामै रहेको यो हिमालको उचाइ ७७१० मिटर छ ।

 

केही अघिसम्म विदेशी पर्यटकले कुम्भकर्ण हिमाललाई (जन्नु) हिमालको रूपमा चिनेको यो हिमालमा फाट्टफुट्ट विदेशी पर्यटक अवलोकनका लागि पुग्थे । कञ्चनजंघा हिमालको उत्तरी आधार शिविरको बाटोअन्तर्गत हजारे वा खम्बाचेनबाट बिहान पुगेर पैदल रूपमा फर्केर आउन सकिन्छ, फक्ताङलुङ हिमालको आधार शिविरबाट ।

 

यो हिमालको पहिलो आरोहण प्रयास सन् १९६२ मा भएको थियो ।कुम्भकर्ण हिमालको पहिचान अन्य हिमालका तुलनामा फरक छ । यहाँ लामो समयदेखि धार्मिक पर्यटक पनि फाट्टफुट्ट आएर दर्शन गरी फर्कने गर्दथे । किराँत धर्मावलम्बीको पवित्र धार्मिक स्थलको रूपमा अहिले यसलाई किराती मारुम्तेम्बे, पारुम्बेतेम्बे भनेर पूजाआजा गरी बर्सेनि दर्शनका लागि तीर्थयात्री आउने गर्छन् ।

 

यो हिमालको फेदीलाई अहिले धार्मिक स्थलको रूपमा परिचित गर्ने र त्यस स्थानमा भौतिक संरचना निर्माणले तीव्रता पाएसँगै यहाँ आउने धार्मिक पर्यटक ह्वात्तै बढेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष छोवाङ शेर्पाले बताए । पवित्र कुम्भकर्ण धार्मिक स्थल संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दीपक ताप्मादेनका अनुसार फक्ताङलुङ हिमालको फेदीमा रहेको धार्मिक स्थल ४५०० मिटरको उचाइमा भएकाले जुनसुकै मौसममा यहाँ पुग्न सम्भव हुँदैन । त्यसैले पर्यटकीय मौसम असोजदेखि मंसिरसम्म र फागुनदेखि वैशाखसम्म यहाँ जान उपयुक्त मौसम हो । 

 

ताप्लेजुङ सदरमुकामबाट एक दिनको मोटर बाटो भएर लेलेपको सेकाथुमबाट सामान्यतया ३ दिनको पैदल दूरीमा मात्र पुग्न सकिने यो धार्मिक तथा मनोरम प्राकृतिक स्थलमा बर्सेनि हजारौँ किराँत धर्मावलम्बी पुग्ने गर्छन् ।

 

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङलगायत भारतकन विभिन्न क्षेत्रबाट, भुटान, हङकङ, बेलायतजस्ता देशबाट नेपाली मूलका धर्मावलम्बी आउने उनले बताए । दृश्यावलोकन र मनोरञ्जनका लागि आउने विदशी र स्वदेशी पर्यटकको ओइरो लाग्न थालेको पर्यटन व्यवसायीको भनाइ छ ।
विस्तारै यसको प्रचार–प्रसार हुनुका साथै ै नेपालीले पनि घुमफिरमा रुचि र समय दिन थालेकाले अहिले यहाँ आउने पर्यटकको सुरुआत मात्रै भएको र आगामी दिनमा फक्ताङलुङ धार्मिक र प्राकृतिक पर्यटकीय हब बन्न सक्ने अध्यक्ष ताप्मादेनले जानकारी दिए । 

 

अहिलेसम्म कति पर्यटक र धर्मावलम्बी यो स्थानमा आए तथा वर्षमा कति आउँछन् भनेर कसैले तथ्यांक राखेको पाइएको छैन । कञ्चनजंघा संरक्षण क्षेत्रको पर्यटन चेकपोस्ट घुन्साका कर्मचारी टासी तेञ्जिङ शेर्पाका अनुसार अहिलेसम्म विदेशी पर्यटकको तथ्यांक राख्ने गरे पनि स्वदेशी पर्यटकको तथ्यांक राख्ने व्यवस्था छैन । उनका अनुसार गत दुई वर्षबाट विदेशी पर्यटक कञ्चनजंघा आएभन्दा झन्डै दोब्बर पर्यटक फक्ताङलुङ आउने गरेका छन् । 

 

आर्थिक वर्ष२०७६/७७ मा ६०८ जना विदेशी पर्यटक कञ्चनजंघा आएका थिए भने आव ०७७÷७८ मा कोरोना महामारीका कारण ४३ जना मात्र पर्यटक यस क्षेत्रमा आएको पाइन्छ । फक्ताङलुङ हिमालमा आउने पर्यटक तथा धर्मावलम्बीका लागि अहिले धमाधम आवश्यक भौतिक पूर्वाधार बन्ने क्रम जारी छ । अहिले सो स्थानमा धर्मावलम्बीलाई खान, बस्न भक्तशाला निर्माण भएको छ भने गुरुआश्रम पनि निर्माण भएको छ ।

 

धर्मावलम्बीका लागि खान, बस्न थप संरचना बनाउन र निजी लगानीमा होटल, चिया पसल सञ्चालनका लागि थप कानुनी जटिलता फुकाएर सेवा सुविधा प्रदान गर्ने प्रयास भइरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष छोवाङ शेर्पाले बताए । अबको केही वर्षमा यस क्षेत्रमा धार्मिक पर्यटकको चाप थामी नसक्नु हुने भएकाले यस क्षेत्रको सेकाथुम, लामाटा, ठांगेम, ग्याब्ला, फले, घुन्सा, हजारे, खम्बाचेनका होटल तथा चिया पसल व्यवसायीले पनि लगानी बढाएर सेवा क्षमतामा वृद्धि गर्न आवश्यक रहेको उनको भनाइ छ । 

 

स्थानीय तह, कञ्चनजंघा संरक्षण क्षेत्र, पवित्र कुम्भकर्ण धार्मिक स्थल संरक्षण समिति र स्थानीयको सहकार्यमा यस क्षेत्रमा सञ्चार, विद्युत्, सहज बाटो, स्वस्थ्य सेवा, आवश्यक भौतिक संरचना निर्माण तथा प्रचार–प्रसार गरिए यस क्षेत्रका स्थानीय समुदाय, सरोकारवाला निकाय सबैका लागि उदाहरणीय धार्मिक पयर्टन क्षेत्र बन्नेछ ।