close

च्यांग्रे पोखरी संरक्षणमा जुट्यो पौवादुङमा

सुक्खाग्रस्त क्षेत्र बन्दै हरियाली 

च्यांग्रे पोखरी संरक्षणमा जुट्यो पौवादुङमा

सुक्खाग्रस्त क्षेत्र बन्दै हरियाली 

Trulli
ADVERTISEMENT

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको पर्यटन स्थल च्यांग्रे पोखरीको संरक्षण थालिएको छ ।  गाउँपालिका केन्द्रमा रहेको पोखरी स्थानीय सरकार र पर्यटन विकास मन्त्रालयको २ करोड १२ लाख रुपैयाँ लागतमा संरक्षण थालिएको हो ।  बहुवर्षीय योजनामा समायोजन गरेर विस्तृत परियोजना प्रतिवेदन तयार गरी यसको विकास तथा विस्तार भइरहेको गाउँपालिकाले जनाएको छ ।


पोखरीको क्षेत्रफलको विस्तार गर्दै पोखरी परिसरमा पञ्चकन्या मन्दिर निर्माण, पानी बोट सञ्चालन, ढल व्यवस्था, बगैँचा निर्माण, पानीको उचित व्यवस्थापन तथा सरसफाइसँगै घेराबारा लगाउनेलगायत काम गरिने गाउँपालिकाले बताएको छ । गाउँपालिका अध्यक्ष किरण राईले भने, ‘अहिले हामी च्यांग्रे पोखरीको संरक्षण तथा विकासमा लागेका छौँ । यसलाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्य छ ।’ 


उनले योजनाअनुसार पर्यटकीय, धार्मिक, ऐतिहासिक क्षेत्रको विकासका लागि चरणबद्ध रूपमा काम अगाडि बढाइएको बताए । गाउँपालिकाको बजेटले मात्रै ती क्षेत्रको विकास सम्भव नभएकाले प्रदेश र केन्द्र सरकारसँग आवश्यक बजेटको व्यवस्थापनमा जुटेको उनको भनाइ छ ।  अध्यक्ष राईले भने, ‘गाउँपालिकामा आएको रकमले पनि कतिपय काम सुरु भइसकेका छन् । पालिकाको सबै क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम गर्ने उद्देश्य भए पनि रकम अभावले मुख्य–मुख्य क्षेत्र छनोट गरी छुट्टाछुट्टै डिपीआर तयार गरेर काम अगाडि बढाएका छौँ ।’ 

 

पोखरीको संरक्षण तथा विस्तारको काम तीव्रगतिमा भइरहेको उनले बताए । कामलाई गुणस्तरीय ढंगले सम्झौता अवधिभित्र सम्पन्न गराउन गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष राईले सुनाए । ‘यो हाम्रो मुख्य आकर्षणको केन्द्र हो । यसलाई जिल्लाको नमुना पोखरी बनाउने लक्ष्य छ । विस्तृत परियोजना प्रतिवेदनमा भएअनुसार यहाँ विभिन्न खालका संरचना निर्माण हुनेछन् । निर्माण सम्पन्न भएपछि यसको प्रचार–प्रसारमा लागेर आन्तरिक तथा बाह्य पर्यटकको मुख्य रोजाइको स्थल बनाउने योजना छ’, उनले भने, ‘गाउँपालिकाको पर्यटकीयसँगै अन्य क्षेत्रको विकासमा योजनाबद्ध रूपमा लागेका छौँ । तर, स्थानीय सरकारलाई आएको बजेटले मात्र योजनामा राखेका काम गर्न सम्भव छैन । त्यसैले हप्तौँसम्म प्रदेश र केन्द्र सरकार धाएर भए पनि बजेटको व्यवस्था मिलाएको छु । यसले यहाँका जनतालाई विकासको अनुभूति दिलाउन सकेका छौँ ।’

 

९ रोपनी क्षेत्रफलमा निर्माणमा भइरहेको पोखरीको पर्खाल बनाउने, फाउन्डेसन खन्नेलगायतको काम तीव्र गतिमा भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईले बताए ।

 

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि ऐतिहासिक महत्त्वलाई कायम राख्दै आधुनिकता झल्कने गरी पोखरी निर्माण हुने उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत राईले भने, ‘यहाँ निर्माण हुने संरचना ऐतिहासिक महत्त्वलाई संरक्षण गर्दै आधुनिकता पनि देखिने गरी निर्माण हुनेछन् । पोखरीको छेउमै रहेको पञ्चकन्या पोखरीको पनि निर्माण हुनेछ ।’

 

त्यस्तै, गाउँपालिका केन्द्रमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयको पनि डिपिआर तयार गरेर काम अगाडि बढाउने तयारी रहेको गाउँपालिकाले जनाएको छ । विद्यालयको पुरानो स्वरूपलाई यथावत राख्दै भौतिक संरचना निर्माण गरिने गाउँपालिकाले बताएको छ । डिपिआरअनुसार विद्यालयको विभिन्न संरचना निर्माणका लागि १ करोड २७ लाख ५९ हजार रुपैयाँ लाग्ने प्रशासकीय अधिकृत राईले जानकारी दिए । 

 

विद्यालयलाई गाउँपालिकाको नमुना विद्यालयका रूपमा विकास गर्नेसमेत उनको भनाइ छ । गाउँपालिकाले यसअघि पर्यटकीय क्षेत्र अरुण डाँडा, च्यांग्रे भ्यूटावर, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मीरा राई रंगाशाला, सन्तानेश्वर महादेवलगायत क्षेत्रको डिपिआर तयार गरेर प्रदेश सरकारसँगको सहकार्यमा कतिपय ठाउँमा कामसमेत अगाडि बढाइसकेको छ । 

 

त्यस्तै, गाउँपालिकाले किराँत दुङमाली भाषा संरक्षण मञ्चको पनि डिपिआर तयार गरिसकेको छ । च्यांग्रे भ्यूटावर निर्माणका लागि ९२ लाख, सन्तानेश्वर मन्दिर निर्माणका लागि २ करोड ७ लाख र अरुणडाँडामा भवन निर्माण तथा अन्य संरचना निर्माणका लागि ४ करोड ५० लाख रुपैयाँ लागत बराबरको डिपिआर तयार गरेको हो ।


    
यो पोखरीको प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न आन्तरिक पर्यटकको आगमनमा वृद्धि भए पनि बाह्य पर्यटक भने कमै मात्र आउने गरेका छन् । परापूर्वकालमा यहाँ च्यांग्रा आएर पोखरीको पानी खाने, पानी खाएर पोखरीमै दिनभर आराम गर्ने भएकाले ‘च्यांग्रे पोखरी’ नामकरण गरिएको स्थानीयको भनाइ छ । 

 

पोखरी बनेदेखि नै पोखरीको पानी जुनसुकै खडेरीमा नसुक्ने स्थानीय सुनाउँछन् । स्थानीय चन्द्रबहादुर खत्रीले भने, ‘यो एउटा धार्मिक महत्त्वको प्रसिद्ध पोखरी हो । प्रचार–प्रसार नहुँदा देश–विदेशका सबै ठाउँमा चिनिएको छैन । तर, यसको संरक्षणका लागि गाउँपालिकाले काम थालेको छ । पक्कै पनि अब यसले चर्चा पाउँछ भन्नेमा हामी आशावादी छौँ ।’

 

च्यांग्रे घुम्न आउने जोकोहीको गन्तव्य नै हो, यो पोखरी । विश्राम गर्ने, घुम्न, डुल्ने, तस्बिर लिने, दृश्यावलोकनको भरपुर आनन्द उठाउन आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । विभिन्न पूजाआजामा पोखरी छेउको पञ्चकन्या मन्दिरमा भक्तालुको ठूलो जमघट हुने गरेको स्थानीयको भनाइ छ । 

 

ऐतिहासिक र धार्मिक महत्त्वको यो पोखरीको संरक्षण गर्न सके पर्यटन व्यवसायबाटै आर्थिक टेवा पुग्ने स्थानीय बताउँछन् । स्थानीय लीला सुनारले भनिन्, ‘यो महत्त्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र हो । यहाँ विभिन्न समय मेला लाग्छ । पोखरीमा बिहान, दिउँसो र साँझ फरक–फरक रङ देख्न सकिन्छ । गाउँपालिकाले यसको संरक्षणमा खेलेको भूमिका स्वागतयोग्य छ ।’

 

पोखरीलाई विशेष आकर्षण दिन आसपासका बस्तीलाई मुआब्जा दिएर अन्यत्र सार्ने, कुलो र ढल निकास गर्ने योजना बनाएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले बताइन् । उनले भनिन्, ‘यो पोखरीले हाम्रो ठाउँको पहिचान बोकेको छ । यसको विकास गर्न सके यहाँको आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ । त्यसैले हामी यसको विकासमा जुटेका छौँ ।’ 

 

त्यस्तै, पालिकाको अर्को पर्यटकीय स्थल अरुण डाँडाको विकासका लागि काम भइरहेको गाउँपालिकाले जनाएको छ । त्यस स्थानको पनि डिपिआर तयार गरेर काम भइरहेको गाउँपालिकाको भनाइ छ ।

 

योजनाबद्ध विकासमा गाउँपालिकाको जोड

 

पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल अरुण डाँडाको विकास तथा विस्तारमा गाउँपालिकाले काम गरिरहेको छ । यहाँ अहिले विभिन्न संरचना बनिरहेका छन् भने गौतमबुद्ध र महादेवको मूर्ति राख्ने काम सकिएको छ । 


गाउँपालिकाले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर स्थानीयसँगै पालिकाको आयस्रोतमा वृद्धि गर्ने लक्ष्य लिएको छ । गाउँपालिकाले ४ करोड ५० लाख रुपैयाँ बराबरको डिपिआर तयार गरेर काम सुरु गरेको हो ।

 

गाउँपालिकाले मीरा राई रंगशालाको डिपिआर तयार गरेर कामको थालनी गरेको छ । गाउँपालिकाले प्रसिद्ध धार्मिक स्थल चारढुंगे सन्तानेश्वर महादेवस्थान मन्दिरको पनि डिपिआर तयार गरेर कामको थालनी गरेको छ । वडा नम्बर ५ सुप्लामा रहेको सो मन्दिरको विकासका लागि २ करोड ६० लाख रुपैयाँ बराबरको डिपिआर तयार गरिएको गाउँपालिकाले जनाएको छ ।

 

गाउँपालिकामा रहेको धार्मिक स्थलका संरक्षण तथा विकासका लागि डिपिआर तयार गरेर काम गर्ने गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए । उनले भने, ‘हामी गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा लागेका छौँ । हाम्रो योजनामा रहेका धेरै संरचनाको काम भइरहेको छ ।’गाउँपालिकाले स्वास्थ्य, शिक्षा, यातयात र कृषि क्षेत्रको विकासका लागि पनि योजनाबद्ध रूपमा काम गरिरहेको जनाएको छ ।

 

तरकारी र अन्डामा आत्मनिर्भर


पौवादुङमा गाउँपालिका तरकारी र अन्डामा आत्मनिर्भर बनेको छ । गाउँपालिकाको अधिकांश क्षेत्र सुक्खाग्रस्त भए पनि गाउँपालिकाले कृषकलाई प्लास्टिक पोखरी निर्माणका लागि आर्थिक सहयोग गरेर प्रोत्साहन गरेसँगै गाउँपालिका तरकारीमा आत्मानिर्भर बनेको हो । 

 

कृषकले वर्षाको पानीलाई पोखरीमा जम्मा गरेर सिँचाइ व्यवस्था मिलाएका छन् । आफ्नो क्षेत्रलाई भौगोलिक आधारमा विभाजन गरेर विभिन्न खाले बालीको पकेट क्षेत्र बनाएर काम गर्ने लक्ष्यका साथ कृषि क्षेत्रमा लगानी गरिरहेको गाउँपालिकाले जनाएको छ । 

 

यसअघिका आर्थिक वर्षमा कृषि क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरेर कृषकलाई प्रोत्साहन गरेकाले अहिले तरकारीमा आत्मनिर्भर बनेको गाउँपालिकाले बताएको छ ।


कृषि शाखा प्रमुख बर्तेन्द्र राईले भने, ‘हामीले प्राथमिकतामा राखेर कृषि क्षेत्रमा लगानी गरेकाले अहिले हामी तरकारी तथा अन्डामा आत्मनिर्भर भएका छौँ । अहिले यहाँ उत्पादित तरकार छिमेकी स्थानीय तहमा समेत बिक्रीका लागि जाने गरेको छ । धेरै सुक्खाग्रस्त क्षेत्र भए पनि कृषकलाई प्लास्टिक पोखरी निर्माणमा प्रोत्साहन गरेर सिँचाइको व्यवस्था मिलाएका छौँ ।’

 

गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खाग्रस्त क्षेत्रभित्र पर्ने वडा–४ बास्तीमा, वडा नम्बर ६ ठूलोदुम्मा, वडा नम्बर ५ सानोदुम्मामा कृषकले अकबरे खुसार्नी, टमार, बोडी, बन्दा, काउलीलगायत व्यावसायिक खेती गरिरहेका छन् । त्यस्तै, गाउँपालिकामा व्यावसायिक कुखुरापालन, बाख्रापालन, मौरीपालनमा लाग्ने कृषकको संख्या पनि धेरै छ ।

 

विगतमा बाहिरी जिल्लामा उत्पादन भएको अन्डामा निर्भर रहँदै आएको गाउँपालिका अहिले आफ्नै ठाउँमा उत्पादन भएको अन्डा अन्य ठाउँमा पठाउन थालेको छ । 

 

स्थानीय कृषकले उत्पादन गरेको अन्डाको बजारीकरणमा समेत गाउँपालिकाले सहयोग गर्दै आएको छ । गाउँपालिकाले नियमित रूपमा गर्भजाँच गराउने गर्भवती महिलालाई एक पटक गर्भजाँच गराएबापत एक क्यारेट अन्डा दिँदै आएको छ ।

 

यसले व्यवसायीलाई अन्डा बिक्री गर्न थप सहज भएको छ । गाउँपालिकाले व्यवसाय सञ्चालनमा अनुदान तथा प्राविधिक सहयोग गरेपछि व्यवसायी निकै उत्साहित छन् । 

 

उत्पादित अन्डा गाउँपालिकासँगै भोजपुरलाई नै पुग्ने व्यवसायीको दाबी छ । गाउँपालिका सञ्चालनमा आएसँगै व्यवसायमा लाग्न प्रोत्साहन मिलेको स्थानीय व्यवसायीको भनाइ छ ।