close

त्रिकोणात्मक पर्यटन प्रवद्र्धनमा जुटे तीन पालिका

त्रिकोणात्मक पर्यटन प्रवद्र्धनमा जुटे तीन पालिका

Trulli
ADVERTISEMENT

चितवन–नेपालका प्रमुख पर्यटकीय स्थलमा पर्ने तीन पालिका त्रिकोणात्मक पर्यटन प्रवद्र्धनमा जुटेका छन् । चितवनको भरतपुर महानगर, कास्कीको पोखरा महानगर र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका त्रिकोणात्मक पर्यटन प्रवद्र्धनमा लागेका हुन् ।


भरतपुर महानगरको अगुवाइमा भरतपुर, पोखरा, लुम्बनी स्वर्ण त्रिकोण प्रवद्र्धन कार्यक्रम अगाडि बढाइएको हो । महानगरले भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा लुम्बिनी र पोखराका पालिकासँग सम्झौतासमेत गरेको थियो । महानगरपालिकाले कार्यक्रम आयोजना गरेर टुर प्याकेज घोषणासँगै स्वर्ण त्रिकोण गन्तव्य प्रवद्र्धन कार्यक्रमसमेत सुरु गरेको छ ।


महानगर प्रमुख रेनु दाहालले लुम्बिनी र पोखरा आउने पर्यटकलाई चितवन भित्र्याउन र यहाँ आएका पर्यटकलाई ती गन्तव्यमा पठाएर बसाइँ लम्ब्याउन कार्यक्रम प्रभावकारी हुने बताइन् । महानगरले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणमा ठूलो लगानी गरेको उनको भनाइ छ ।


महानगरको आफ्नोसँगै बागमती प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर पर्यटकीय गन्तव्यको भौतिक पूर्वाधार निर्माण र प्रवद्र्धनमा काम गरिरहेको उनले जानकारी दिइन् । महानगरभित्र महत्त्वपूर्ण ३० पर्यटकीय गन्तव्य रहेकाले यहाँ आउने पर्यटकले ६ रात ७ दिनसम्म बसेर घुम्न मिल्ने गरी प्याकेज तयार गरिएको उनको भनाइ छ ।


उनका अनुसार प्याकेजमा जंगल सफारीदेखि नारायणी नदी सी विच मोडल हुँदै धार्मिक क्षेत्र र पहाडी डाँडामा पदमार्गसमेत रहेका छन् । दाहालले नेपालकै पर्यटकीय दृष्टिले भरतपुर महानगरमा विविधता भएकाले सूर्याेदयदेखि सूर्यास्तसम्म अवलोकन गरेर पर्यटक रमाउन सक्ने ठाउँ रहेको बताइन् ।

 

भरतपुरको कविलासस्थित चौकीडाँडाबाट सूर्याेदय अवलोकन गर्न सकिन्छ भने गोलाघाटबाट सूर्यास्तको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । महानगरले सार्वजनिक गरेको ६ रात ७ दिनको टुर प्याकेजमा ३० महत्त्वपूर्ण पर्यटकीय गन्तव्य समावेश गरिएका छन् । महानगरका पर्यटन विज्ञ सल्लाहकार डा. विश्वराज सुवेदीका अनुसार २ रात ३ दिनका लागि निकुञ्ज तथा सामुदायिक वनमा जंगल, जीप, पैदल सफारीलगायत क्रियाकलाप रहेका छन् । 

 

यस प्याकेजअन्तर्गत पर्यटक चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा घुम्नेछन् । थप १ रात १ दिन बस्नुपर्दा धार्मिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गराइनेछ । गणेशधाम, बागेश्वरी, देवघाट, शिवघाट, विक्रम बाबालगायतका धार्मिक पर्यटकीय गन्तव्य घुमाइनेछ । 

 

अर्काे १ दिन र रात बस्ने पर्यटकका लागि मानव निर्मित आकर्षणको अवलोकन गराइनेछ । बन्दै गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, दियालो बंगला, साना संग्रहालयलगायत पर्दछन् । अर्काे १ रात र दिन बस्ने पर्यटकका लागि पहाडी क्षेत्रमा हाइकिङ तथा ट्रेकिङ गराइनेछ । यसअन्तर्गत कविलासको ढोडेनी, चौकीडाँडालगायत क्षेत्रमा पर्यटकलाई घुमाइनेछ ।


सुविधाअनुसार ६ रात र ७ दिन बस्ने पर्यटकलाई सबै प्याकेजसँग थप राइनो, बीसहजारी, २८ हजार, सिमसारजस्ता तालमा पर्यटकीय गतिविधि गराइनेछ । सुवेदीले भने, ‘यहाँ ७ दिन घुम्ने पर्यटकले सबै आनन्द लिन सक्नेछन् ।’  पर्यटन क्षेत्रमा यति धेरै विविधता जहाँतहीँ पाउन नसकिने सुवेदीको भनाइ छ ।


 
महानगर उपप्रमुख पार्वती शाह ठकुरीले महानगरभित्रको मेघौली, पटिहानी, बीस हजारी ताल, देवघाट, ज्ञानेश्वर, नारायणी रिभर विच र चौकीडाँडा ७ पर्यटकीय बिन्दुका रूपमा प्रचारप्रसार गरिँदै आएको बताइन् । तीभित्र र बाहिरका अन्य महत्त्वपूर्ण ३० गन्तव्यलाई समावेश गरेर प्याकेज निर्माण गरिएको उनले जानकारी दिइन् । उनका अनुसार पर्यटन प्रवद्र्धन महानगरको विशेष प्राथमिकताको क्षेत्रमा परेको छ ।


टुर प्याकेज घोषणा एवं स्वर्ण त्रिकोण गन्तव्य प्रवद्र्धन कार्यक्रमको सञ्चालन अवसरमा प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारी, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठलगायतले यहाँको पर्यटकीय महत्त्व र तीन पालिकाबीचको पर्यटकीय सम्बन्धबारे प्रकाश पारे ।


जिल्लाका सरोकारवालासँगै लुम्बिनी र पोखराबाट आएका पर्यटनसँग सम्बन्धित सहभागीले महानगरका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछन् । यसपछि यहाँबाट ती दुई गन्तव्यमा अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । लुम्बिनीमा वार्षिक र पोखरामा पनि ठूलो संख्यामा पर्यटक आउने गर्छन् । चितवनमा जंगल सफारीका लागि २ लाख हाराहारी पर्यटक वार्षिक रूपमा आउने गर्छन् ।  यो संख्या बढाएर बस्ने अवधि थप गर्न महानगरपालिकाले महत्त्वपूर्ण दुई ठाउँलाई जोडेर पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढाएको हो ।