close

घान्द्रुकमा ओइरिँदै आन्तरिक पर्यटक

घान्द्रुकमा ओइरिँदै आन्तरिक पर्यटक

Trulli
ADVERTISEMENT

कास्की- गण्डकी प्रदेश मुकाम कास्कीमा रहेको घान्द्रुक गाउँमा यतिबेला आन्तरिक पर्यटक भरिभराउ भएका छन् । अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० मा रहेको घान्द्रुक गाउँ आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । अन्नपूर्ण क्षेत्रको पदयात्रा मार्ग भएकाले पनि यो क्षेत्रमा बाह्रैमास स्वदेशी÷विदेशी पर्यटकको ओइरो लाग्ने गर्छ ।


गुरुङ समुदायको परम्परागत पहिचान झल्काउने तथा वातावरणमैत्री बसोबास नै यो गाउँको मुख्य आकर्षण हो । यहाँबाट देखिने हिमशृंखलाले पनि सबैलाई मोहित बनाउँछ । घान्द्रुक समुद्री सतहबाट २०१२ मिटरको उचाइमा छ । घान्द्रुक आफैंमा अन्नपूर्ण, माछापुच्छ«े हिमालको काखमा अवस्थित छ ।

 

सूर्योदयसँगै नजिकैका हिमाल नियाल्नका लागि बर्सेनि यहाँ लाखौँ संख्याका स्वदेशी÷विदेशी पर्यटक आउने गर्छन् । घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटनको उत्कृष्ट गन्तव्य बनिरहेको छ । पदयात्रा मन पराउनेका लागि यो उत्कृष्ट गन्तव्य बनिरहेको छ । छोटो पदयात्रा मन पराउने पदयात्रीका लागि अन्नपूर्ण घान्द्रुक पदयात्रा लोकप्रिय छ । पोखराबाट नयाँपुलसम्मको एक घन्टाको यात्रापछि पदयात्रा सुरु हुन्छ ।

 

नयाँपुल पुगेपछि घान्द्रुकको पदयात्रा सुरु हुन्छ तर पदयात्रा गर्न नचाहनेका लागि पनि सडक सुविधा छ, घान्द्रुक गाउँ पुग्न । पदयात्रा गरेर होस् या गाडीमै सहजै पुग्न सकिन्छ, घान्द्रुक गाउँ । गुरुङ समुदायको संस्कृति, धर्म, पर्व, वेशभूषा, खानपिन आदिबारे धेरै जानकारी दिने गुरुङ संग्रहालय पनि यहाँ स्थापना गरिएको छ । 

 

यो संग्रहालयबाट गुरुङ जातिको मात्र नभई अन्य जातजातिको संस्कृति झल्कने वस्तु अवलोकन गर्न सकिन्छ । घान्द्रुक गाउँमा पुगिसकेपछि पुरानो गाउँ घले गाउँको पनि अवलोकन गर्न सकिन्छ । यो गाउँमा पुराना घर एकैनास तरिकाबाट बनाइएको छ । अन्नपूर्ण क्षेत्रमा घुम्न आउने नेपाली तथा विदेशी पर्यटककै कारण यो क्षेत्र देश–विदेशमा परिचित हुँदै गएको स्थानीय बताउँछन् । स्थानीय पर्यटन व्यवस्थापन समितिले कोरोना संक्रमणपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकका लागि गाउँ घुम्ने व्यवस्था गरेको छ ।