close

म्याङलुङमा पूर्वाधार निर्माणले बढायो पर्यटन गतिविधि

म्याङलुङमा पूर्वाधार निर्माणले बढायो पर्यटन गतिविधि

Trulli
ADVERTISEMENT

तेह्रथुम– तेह्रथुमको म्याङलुङ नगरपालिका सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले समृद्ध स्थानीय तह हो । नगरपालिकाको नामकरणदेखि यहाँ बसोबास गर्ने विभिन्न जातजातिको संस्कृति लोभलाग्दो छ । नगरपालिकाभित्र रहेका डाँडा र मन्दिरबाटै धार्मिक पर्यटक भित्र्याइरहेको छ । पछिल्लो पाँच वर्षमा पर्यटनको सम्भावनालाई सफल तुल्याउन जनप्रतिनिधिले गरेको मिहिनेत विस्तारै देखिन थालेको छ । 

 

मेयङलुङ शब्दबाट अप्रभंश हुँदै हालको म्याङलुङ नगरपालिका बनेको हो । लिम्बू भाषामा मेयङ अर्थात् बिरालो र लुङ अर्थात् ढुंगा भन्ने बुझिन्छ । यही परिचयलाई स्थापित गर्न नगरपालिकाले मुख्य बजारमा बिरालोको स्तम्भ नै स्थापना गरेको छ । यहीबाटै नगरमा पर्यटक आकषर््ाण बढ्न थाल्छ । नगरपालिकामा रहेका विभिन्न धार्मिक मठमन्दिर र प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिने डाँडाले म्याङलुङमा पर्यटक भित्र्याउने गरेको छ । पूर्वाधार निर्माणमा जनप्रतिनिधिले जोड दिँदा १४ वटा धार्मिक र पर्यटकीय स्थलमा पर्यटक आगमन बढ्दै गएको छ । 


नगरपालिकाभित्र सिंहवाहिनी मन्दिर, पाथीभरा मन्दिर, सीमिनाक्षी पाथीभरा मन्दिर, म्याङलुङ ढुंगा, शिव मन्दिर, गुप्तेश्वर गुफा, शिवध्याने मन्दिरलगायतका धार्मिक पर्यटकीय स्थल रहेका छन् । शर्वेश्वर महादेव कुटीले दैनिक ५० भन्दा बढी धार्मिक पर्यटक आकर्षित भइरहेका छन् । 


नगरपालिकाभित्र चिरुवा ढुंगा, छेलेडाँडा, सिर्दले डाँडा, हलमेला बजार, आलेटारलगायतका पर्यटकीय स्थलमा पर्यटक आगमन बढ्दै गएको छ । नगरपालिकाको ऐतिहासिक पर्यटकीय स्थल खुर्कुटे ओडारको अवलोकन गर्न पनि पर्यटक आउने गरेका छन् । 

 

पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाले प्रदेश र संघीय सरकारसँग मिलेर काम गरिरहेको छ । साझेदारीमा पार्क, भ्युटावर तथा अन्य स्थानको स्तरोन्नति गरिएको छ । ३८ जातका गँुरास फुल्ने तिनजुरे मिल्केको संरक्षण र संवद्र्धन भइरहेको छ ।  ऐतिहासिक व्यक्तित्व वा सहिद नेत्र गुरागार्इंको नाममा पार्क बनाउने काम भइरहेको छ । अहिले सुरुआती चरणमा रहेको यो पार्कले पर्यटको चहलपहल बढाउने लक्ष्य छ । यो पार्कभित्र जातीय संग्रहालय तथा भ्युटावर समेटिनेछन् । यसका लागि पर्यटन पूर्वाधारमा जोड दिइएको नगरपालिकाको पूर्वाधार शाखाका इन्जिनियर सुमन खड्का बताउँछन् ।

 

लिम्बू जातिको बाहुल्य रहेको नगरपालिकामा उनीहरूको संस्कृति र कला पर्यटकका लागि नौलो दृश्य बन्न पुगेका छन् । त्यसैको संरक्षण र प्रवद्र्धन गरेर संस्कृतिलाई जर्गेना गर्ने गरिएको छ । कला र पहिचानको रूपमा रहेको ढाका कपडालाई नगरपालिकाले प्रवद्र्धन गरेको छ । तेह्रथुमे ढाका कपडा किन्न पर्यटक लोभिने गरेका छन् । नगरपालिकाले यसलाई आकर्षणको केन्द्र बनाउन सफल भएको नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङफेले जानकारी दिए ।

 

धार्मिक, सांस्कृतिक र मनोरम दृश्यबाहेक कृषि क्षेत्रबाट समेत पर्यटक आकर्षित गर्ने नगरपालिकाको लक्ष्य छ । त्यही लक्ष्यअनुसार विभिन्न वडालाई उत्पादनको पकेट क्षेत्र तोक्ने र फलफूल भण्डारण गर्न चिस्यान र शीतभण्डार निर्माण गरिएको छ । नगरपालिकामा कृषिमा रुचि भएकाका लागि यो अर्को आकर्षणको केन्द्र  बन्न पुगेको छ । म्याङलुङलाई पर्यटन क्षेत्रबाट समेत समृद्धिको अभियानमा जोड्ने जनप्रतिनिधिको योजना अहिले सफलता उन्मुख देखिन्छ ।