close

सिम्रौनगढमा बर्सेनि हिंसात्मक झडप : विकासले लिएन गति, कर्मचारी र स्थानीय सधैं त्रासमा

सिम्रौनगढमा बर्सेनि हिंसात्मक झडप : विकासले लिएन गति, कर्मचारी र स्थानीय सधैं त्रासमा

Trulli
ADVERTISEMENT

बारा– गत साता सिम्रौनगढ नगरपालिकामा झडपमा परेर एक जनाको मृत्यु र १० जना घाइते भए । विगत लामो समयदेखि तलब नपाएका कारण आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुले पालिकाको प्रशासकीय भवन र गाडीमा आक्रमण गरेपछि प्रहरीले झडप नियन्त्रण गर्न अश्रुग्याँस र बन्दुक चलाउनु परेको थियो ।

मंसिर २७ गते पालिकामा प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्र हाजिरीको लागि पुगेको समयमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको ज्यान लिने गरी हमला भएपछि प्रहरीले नियन्त्रण गर्न खोज्दा सो घटना घटेको पालिका प्रमुख किशोरीप्रसाद कलवारले बताए ।

उनले भने, ‘हामी कार्यालयभित्र हुँदा पालिकाको सीसा फुटाएर ढुंगा प्रहार भयो । यसको प्रतिकार गर्न प्रहरी परिचालन भएका थिए । तर प्रहरीको प्रतिकारलाई नमानेर प्रहरीमाथि नै भीड जाइलागे । त्यसपछि प्रहरीले आफ्नो ज्यान सुरक्षाका लागि हवाइ फायर गर्नुपर्ने अवस्था आएको थियो ।’

उनका अनुसार नगरपालिकाको कार्यालयका सीसा फुटेका छन् भने सबै भौतिक संरचना तहसनहस बनेको छ । पालिकाको गाडी तोडफोड गर्नुका साथै चक्का काटिएको छ । नगरपालिकाको ५० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको नगरप्रमुख कलवारले बताए । 

प्रमुख प्रशासकीय अधिकृतको हाजिरीमा समस्या

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गत आर्थिक वर्षको अन्तिममा सरुवा भएपछि पालिकामा आर्थिक अधिकार भएको व्यक्ति नहुँदा सिम्रौनगढका कर्मचारी र शिक्षकको तलब रोकिएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल गत असार २४ गते सरुवा भएका थिए। 

सो पछि साउन, भदौ, असोज र कात्तिकमा सिम्रौनगढ प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको थियो । खनालको सरुवा पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रञ्जित जंग अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो । उनको नगरपालिकामा हाजिरी हुन सकेन । 

पालिकामा असार मसान्तसम्म सातौँ नगरसभा गरिसक्नुपर्ने भएपनि कात्तिकमा मात्र नगरसभा भएको छ । जुन समयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजेन्द्रकुमार चौधरी कार्यरत थिए । 

कात्तिकसम्म पनि नगरपालिकामा आर्थिक कारोबारको अधिकार पाएका हाकिम नभएर तलब रोकिएपछि शिक्षक र कर्मचारीले आन्दोलन सुरु गरेका थिए । आन्दोलन सुरु भएपछि तलबको समस्या समाधान गर्न नगरप्रमुख आफैँ मन्त्रालय पुगेर मन्त्रालयको कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा लिएर आएको कलवार बताउँछन् । 

नगरप्रमुख कलवार भन्छन्, ‘कात्तिक २० मा मन्त्रालयमा पुगेर जयनारायण यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा ल्याएँ ।’

संघले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई दुईवटा कामको लागि खटाएको थियो । उनलाई सामाजिक सुरक्षा भत्ता वितरण र कर्मचारीको तलब, भत्ता वितरणको अधिकार दिएर एक महिनाको लागि खटाएको नगरप्रमुख कलवारले बताए । 

उनले भने, ‘निमित्त प्रमुख प्रशासकीय अधिकृतले सामाजिक सुरक्षा भत्ता खुवाए । तर कर्मचारीको तलब वितरण गर्न सकेनन् ।’ अल्पमतमा नगरसभा भएको भन्दै तलब खुवाउँदा आफूमा कानुनी झमेला आइपर्ने भन्दै तलब खुवाउन नमानेको उनको भनाइ छ । नगरसभालाई मान्ने/नमान्ने निर्णय गर्ने काम अदालत र न्यायपालिकाको रहेको उनले सुनाए । 

कर्मचारीलाई तलब नखुवाइ गत मंसिर २२ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवको कार्यावधि सकिएको र २२ गतेदेखि महेशकुमार मिश्रलाई सिम्रौनगढकै छिमेकी पालिका पचरौताबाट सरुवा गएर मन्त्रालयले सिम्रौनगढ पठाएको उनले सुनाए । उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत मिश्र मंसिर २६ गते पालिका आइपुग्नु भएको थियो ।’ मिश्र २७ गते हाजिरी गर्न जाँदा झडप भएको उनले सुनाए । 

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिँदा कर्मचारीलाई तबल उपलब्ध गराउन नसकेको नगरप्रमुख कलवार बताउँछन् । ‘प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत भएन भने कर्मचारीलाई तलब कसरी खुवाउनु ? मेयरसँग त कर्मचारीलाई तलब खुवाउने अधिकार छैन । हामी त नियम कानुन बनाउने हो । कार्यान्वयन गर्ने काम कर्मचारीको हो । कर्मचारीलाई नै बस्न नदिएपछि कसरी गर्नु ,’ उनले प्रश्न गरे । 

हाल घटनापछि लास व्यवस्थापन र घटनाको टुङ्गो लगाउन जिल्ला प्रशासन कार्यालयमा धाइरहेको उनले बताए । ‘प्रमुख प्रशासकीय अधिकृत मिश्र हाजिर हुनुभयो । विवाद सल्टाएर मात्र कर्मचारीलाई तलब खुवाउन खाता खोल्न सिडिओ साबले भन्नु भएको छ । अहिलेसम्म कर्मचारीलाई तलब खुवाउन सकेका छैनौँ ।’ 

प्रमुख प्रशासकीय अधिकृतको हाजिरी हुन नदिन विपक्षी दल काँग्रेसले आन्दोलनरत कर्मचारी र शिक्षकलाई उक्साउँदा पालिकामा अप्रिय घटना घट्न पुगेको दाबी उनको छ । 

नगरसभाको विषयमा लिएर विपक्षीको असन्तुष्टी

११ वटा वडा रहेको सिम्रौनगढ नगरपालिकामा प्रमुख र उपप्रमुख एउटै राजनीतिक दलबाट निर्वाचित भए पनि अल्पमतमा छन् । नगरप्रमुख, उपप्रमुख, वडा नं ६ र ७ का वडाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट निर्वाचित भएका हुन् भने वडा नं ८ का वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बाट निर्वाचित भएका हुन् । बाँकी ८ वडाका वडाध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् । 

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गर्न बसेको सभा पनि उपप्रमुख र काँग्रेसका जनप्रतिनिधिबिना नै सम्पन्न भएको छ । नगरसभामा ५९ जना सदस्य रहेपनि नगरप्रमुखसहित १९ जनाको सहमतिमा चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पास भएको छ । जसमा उपप्रमुख सहित ४० जना नगरसभा सदस्यको उपस्थिति थिएन । 

असोज २१ र २४ गते नगरप्रमुखको आह्वानमा नगरसभाको बैठक बस्दा गणपुरक संख्या अपुग भएको र तेस्रो पटक गणपुर संख्याको उपस्थितिमा नै नगरसभा गरेको नगरपालिकाले जनाएको छ । 

उता नगरसभामा उपस्थिति नभएका नेपाली काँग्रेस तर्फबाट निर्वाचित जनप्रतिनिधि भने २५ प्रतिशत सदस्यको सहमतिले मात्र नगर सभा भएको र यसलाई नमान्ने भन्दै विरोध गरिरहेका छन् । 

कात्तिक २४ गते आफूहरुले उपस्थिति जनाएको तर नगरसभा हुन नसकेपछि सो दिन नगरसभा स्थगित भएको वडा नं १ का अध्यक्ष दिनदयाल मुखिया बताउँछन् । उनकाअनुसार कात्तिक ३ गते नगरपालिकाको सभाहलमा बिहान ७ बजेको लागि नगरप्रमुखले नगरसभाका लागि बोलाएका थिए ।

नगरसभामा उपस्थिति जनाउन उपप्रमुखसँगै ३९ जना सभाहल पुगेको तर नगरप्रमुख आफैँ उपस्थित नभएको उनले बताए । उनले भने, ‘नगरप्रमुखले आफ्नै निजी निवासमा नगरसभा गरेछन् । बिहान करिब साँढे ८ बजे नगरसभा भइसक्यो भनेर हामीलाई खबर भयो ।’

गत वर्ष सिम्रौनगढमा बारा जिल्लाकै सबैभन्दा पहिला नगरसभा सम्पन्न भएको उनले सुनाए । असार १० गते नै नगरसभा सम्पन्न भएको उनले बताए । तर, नगरप्रमुखले बजेटको सिलिङअनुसार आर्थिक अधिकार नदिएकोले वडाध्यक्ष मुखिया गुनासो गर्छन् । 

गत आर्थिक वर्षमा एउटा वडालाई ९० लाखको दरले बजेटको सिलिङ दिइएको तर भुक्तान भने नगरेको उनले बताए । नगरप्रमुखले बिना शीर्षकको बजेट धेरै खर्च भएको उनको आरोप छ । नगरप्रमुखले मेला, मुख्यमन्त्रीको सम्मान, तेल, पिकनिक, उपराष्ट्रपतिको सम्मान कार्यक्रम जस्ता बिना शीर्षकको काममा अवैधानिक रुपमा बजेटको खर्च गरेको उनले बताए । उनले थपे, ‘हामी वडाध्यक्षहरुलाई ९० लाखको बजेट सिलिङ दिइएको थियो तर काम गरिसकेपछि भुक्तान दिएनन् ।’ 

बिना शिर्षकमा बजेट खर्च गरेपछि नगरसभामा जवाफ दिनुपर्ने भएकाले नगरप्रमुखले चलाखी गरेर निजी निवासबाट नगरसभा पास गरेको उनको दाबी छ । गत आर्थिक वर्षमा वडाबाट आफूले करिब ५० लाख रुपैयाँ बराबरको काम गर्दा ५ लाख रुपैयाँ बराबरको मात्र भुक्तान पाएको उनले सुनाए । 

उपप्रमुखको शीर्षकका बजेट पनि नदिएकाले उपप्रमुख पनि आफूहरुको समर्थनमा रहेको वडाध्यक्ष मुखिया बताउँछन् । ‘उपप्रमुखलाई नगरप्रमुखले अनुगमनमा जाने अधिकार पनि दिनुभएन । अनुगमन नगरि हामीले पनि भुक्तानी पाएनौँ । उपप्रमुख पनि पीडित हुनुभएको छ, ’ उनले भने । 

कर्मचारी, शिक्षकहरु तलबविहिन भएकाले उनीहरुलाई तलब उपलब्ध गराउन आफूहरुले पनि आन्दोलनको समर्थन गरेको उनले बताए । सो घटना घटेको दिन पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएकाले आन्दोलनकारी उत्साहित भएको तर गोली नै चलाउने अवस्था भने नआएको उनको भनाइ छ । 

हिंस्रक आन्दोलनको चपेटामा सिम्रौनगढ

गत हप्ताको घटना मात्र नभइ यसअघि पनि सिम्रौनगढमा तलब माग गर्दै आन्दोलनरत शिक्षकको मृत्यु भएको थियो । पालिकाको वडा नं ८ कचोर्वास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षक नरेन्द्र पराजुलीको गत मंसिर ८ गते मृत्यु भएको थियो । 

नगरपालिकामा करिब दुई वर्ष अघि पनि आन्दोलनका कारण पालिकाले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको थियो । शैक्षिक भ्रमणमा जान पालिकाले आर्थिक सहयोग गरेको भन्दै विद्यार्थीहरुले प्रशासकीय भवनमा तोडफोड गर्दै आन्दोलन गरेका थिए । सो आन्दोलनमा नगरपालिकाले करिब २ करोड बराबरको क्षति व्यहोरेको थियो ।