close

आलु जोनमै डढुवाको प्रकोप

आलु जोनमै डढुवाको प्रकोप

Trulli
ADVERTISEMENT

ओखलढुंगा - जिल्लाको सिद्धिचरण नगरपालिका वडा नम्बर ६ को जन्तरखानी आलु उत्पादनको पकेट क्षेत्र हो । तर, यो वर्ष आलु उत्पादन पकेट क्षेत्रमै डढुवा रोग लागेपछि किसानलाई लगानी नउठ्ने चिन्ताले पिरोलेको छ ।


नगरपालिकासँगको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषक समूहलाई अनुदानसहित आलुको पकेट क्षेत्र विस्तारमा सहयोग गरिरहेको छ । 


विगतमा यहाँ उत्पादन हुने अर्गानिक आलु विदेशसम्मै पुग्थ्यो । अहिले लगातारको बेमौसमी झरीका कारण डढुवाले आलुको दानै नलागी बोट मरेपछि आलुको बिउ  जोगाउन मुस्किल भएको किसान बताउँछन् । 


आलु जोन कार्यक्रम कार्यान्वयन समितिका संयोजक एवं अगुवा किसान राजेश श्रेष्ठले डढुवा रोगका कारण आलुको बोटै सखाप भएको बताए । आलुमा थोरै दाना लागेका पनि सानो भएकाले घरायसी प्रयोजनबाहेक अन्यत्र बिक्री गर्न नमिल्ने अवस्था रहेको उनी सुनाउँछन् ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जोन निर्माण गरेर लगाइएको आलु बोटै मरेपछि किसानले लाखौंको क्षति बेहोरेका छन् । बोट मरेपछि अर्को वर्ष किसानले आलुको बिउ पाउन मुस्किन भएको संयोजक श्रेष्ठले जानकारी दिए । उनले भने, ‘लगातार २४ घन्टाभन्दा बढी पानी पर्ने र हुस्सु लाग्ने हुँदा आलुमा ठढुवा रोग लागेको हो ।’


आलु रोप्न बुङ बनाउने समयदेखि नै पानी परेर समस्या आएको किसानको भनाइ छ । माघ, फागुनमै पाखा खनेर तयार गरिएको बुङ डढाउनसमेत पानीले नदिएपछि रोप्न ढिलाइ भएको उनीहरूको गुनासो छ ।


असार, साउनमा लगातार झरी परेकाले एक–दुई दिनमै डढुवा फैलिएर आलु सखाप पारेको हो । सिद्धिचरण नगरपालिकामा वडा नम्बर ६ को जन्तरखानी मात्र होइन, वडा–५ र ७ मा पनि आलुको बोट मरेपछि किसान चिन्तित छन् । अहिले आलु खन्ने सिजनमै प्रतिकेजी ९० रुपैयाँसम्म पुगेको छ ।


कतिपय क्षेत्रमा आलु उत्पादन ८० प्रतिशतसम्म घटेकाले किसानको लगानी खेर जाने अवस्था आएको सिद्धिचरण नगरपालिका वडा–६ का वडाध्यक्ष मदन मगरले जानकारी दिए ।  
ओखलढुंगाका सिद्धिचरण नगरपालिकासहित चिशंखुगढी, खिजीदेम्वा र मोलुङ गाउँपालिकाका ९ वडामा आलु जोन कार्यक्रम सञ्चालनमा छ ।


जोनमार्फत बिउमा अनुदान र प्रविधि सहयोगमा आम्दानी गर्दै आएका किसानलाई यो वर्ष भने बिउ जोगाउनै मुस्किल परेको छ । आलु मात्रै उत्पादन हुने क्षेत्रको मुख्य खाद्यबालीको उत्पादन ह्वात्तै घटेपछि किसान समस्यामा छन् । 


किसानले समयमै रोगको पहिचान गर्न नसक्नु र लकडाउनका कारण समन्वय नहुँदा आलुमा रोगको प्रकोप फैलिएको आलु जोन कार्याक्रम आयोजना कार्यान्वयन कार्यालयले जनाएको छ ।


आलु जोनका कृषि प्राविधिक लीला श्रेष्ठ औसतमा ३० देखि ३५ प्रतिशशत उत्पादन घटेको बताउँछन् । ‘डढुवा रोग फैलिएपछि नियन्त्रणमा आउन कठिन भएकाले किसानले रोग प्रतिरोधात्मक बिउ लगाउने र समयमै विषादी हाल्नुबाहेक अरु विकल्प छैन’, प्राविधिक श्रेष्ठ भन्छन् । 


१२ सय ३१ हेक्टरमा फैलियो डढुवा 


लगातारको झरी र हुस्सु लागेपछि हरियो आलुको बोट पात रातो हुँदै फेदैसम्म मर्छ । बोटमा लक्षण देखिन थालेको १ देखि २  दिनमा सबै सखापै पारिसक्छ । फैजी शैलीमा फैलिने डढुवाले आलुको व्यावसायिक उत्पादनका लागि समूहमार्फत जुटेका चार स्थानीय तहका आलु उत्पादक किसानको गत वर्षभन्दा ४ सय टन प्रतिहेक्टर उत्पादन घटेको छ  । 


आलुको उत्पादन मात्रै घटेको नभई आगामी वर्षका लागि बिउ जुटाउने समस्या थपिएको छ । डढुवा एक पटक लागेपछि सधैँ फैलिने भएकाले नियन्त्रण गर्न गाह्रो परेको जन्तरखानीका स्थानीय हरि मगर बताउँछन् । उनले भने, ‘मुख्य बाली नै आलु थियो । यही बेचेर हामीहरूको दैनिक खर्च चलिरहेको थियो । तर, यो वर्ष बोटै मरेपछि चिन्ता थपिदियो ।’ डढुवाले ओखलढुंगामा १ हजार २ सय ३१ हेक्टरमा लगाइएको आलु सखाप भएको छ ।