close

गन्यापधुराको कृषिमा रोजगारी र उत्पादन बढाउने अभियान

गन्यापधुराको कृषिमा रोजगारी र उत्पादन बढाउने अभियान

Trulli
ADVERTISEMENT

डडेलधुरा - डडेलधुराकाे गन्यापधुरा गाउँपालिकाले विदेशको रोजगारी गुमाई घर फर्किएका र गाउँमै रहेका स्थानीयलाई कृषि र पशुपालनको उत्पादनसँग जोड्ने योजना अघि सारेको छ । 


कोरोना महामारीका कारण भारतलगायत अन्य मुलुकबाट रोजगारी गुमाई घर फर्किएका युवाहरूलाई स्वदेशमै रोजगारमुखी बनाई कृषि पेसामा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले यस्तो अभियान सुरु गरेको हो ।


गाउँपालिकाभित्र सामूहिक कृषि तथा पशुपालन गरिरहेका फर्ममा लगानी गरिने गाउँपालिका अध्यक्ष नवल मल्लले जानकारी दिए । ‘रोजगारी र उत्पादन बढाउन गाउँपालिकाले २ करोड खर्च गर्नेछ । चालू आर्थिक वर्षमा कृषि र पशुपालनतर्फ यो रकम परिचालन गरिनेछ’, मल्लले भने । गाउँपालिकाबाट रोजगारीका लागि भारतलगायत अन्य मुलुकमा गएकाको संख्या ३ हजार ५ सय रहेको मल्लले बताए । यो संख्यामध्ये २ हजार २ सय स्थानीय घर फर्किएका छन् ।


गाउँ फर्किएका युवाको सीपलाई सदुपयोग गर्न गाउँपालिकाले कृषिमा रोजगारी अभियान सुरु गरेको उनको भनाइ छ । मल्लले भने, ‘प्रत्येक वडामा एउटा कृषि र एउटा पशुपालन फार्ममा लगानी गर्दै छौं । एउटा फार्ममा २५ लाखका दरले लगानी गर्ने योजना छ ।’ 


गाउँपालिकाका ५ वटै वडामा कृषि पशुपालनका फार्म बनाई युवालाई उत्पादन र रोजगारीसँग जोडिने मल्ल बताउँछन् । कृषि, पशुपालन फार्मलाई २५ लाखसँगै सिँचाइ पोखरी, मल, बिउ, कृषि औजारमा गरी करिब २ करोड बजेट छुट्याइएको उनले जानकारी दिए । 


वडा–१ को लकतडामा रहेको भागेश्वर कृषि फार्ममा भैंसीपालन गर्ने योजना गाउँपालिकाको छ । सुकतडा र बन्तडीलाई कृषि पकेट क्षेत्र बनाई आलुमा लगानी गर्ने योजना रहेको मल्लले बताए ।


यस्तै, वडा–२ को पारिखेतमा तरकारी उत्पादन र कुजाकोटको कुजाकोट कृषि फार्मभित्र व्यावसायिक भैंसीपालन गरिनेछ ।

 

वडा–३ को सेल्तडामा तरकारी खेती  पकेट क्षेत्र घोषणा गरिएकाले स्थानीय युवाले चासो देखाएको नगरपालिकाले जनाएको छ । युवालाई भैंसी, गाई, कुखुरा, बंगुरपालनमा सघाउने योजना रहेको मल्लले जानकारी दिए ।


वडा–४ को वनतोलमा रहेको १ सय ५० रोपनी बाँझो जमिनमा स्थानीयले आलु खेती सुरु गरेका छन् । त्यहाँ भैंसी, बाख्रापालनका लागि पालिकाले सहयोग गर्ने उनले बताए ।


पालिकाले वडा–५ को सल्कोटलाई तरकारी खेती गर्न छनोट गरेको छ । कोरालखोलामा विदेशबाट फर्केका युवाहरूले बाख्रापालन सुरु गरिसकेको मल्ल बताउँछन् ।