close

कृषि परियोजना सञ्चालन गर्दै खिजीदेम्बा

कृषि परियोजना सञ्चालन गर्दै खिजीदेम्बा

Trulli
ADVERTISEMENT

ओखलढुंगा - ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाले कृषि तथा पशु सेवा विशेष सहयोग कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले नेपाल कृषि सेवा विकास कार्यक्रमसँग अनुदान सहायतासम्बन्धी सम्झौता गरिसकेको छ । 


मंसिरभित्र सम्पन्न हुने गरी परियोजना सम्झौता गरेर कृषि समूह तथा कृषि सहकारीबाट प्रस्ताव माग गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले जानकारी दिए । उक्त परियोजना ४९ लाख १७ हजार ५ सय रुपैयाँको हुने रोकाले बताए । 


व्यावसायिक तरकारी खेती, कृषि उपज संकलन गर्न गाउँपालिकामा दर्ता भई सञ्चालनमा रहेका कृषक समूह र कृषि सहकारीले अनुदान पाउनेछन् ।

 

समूहमा आबद्ध कृषकलाई व्यावसायिक कृषिमा प्रोत्साहन गर्न र आत्मनिर्भर बनाउन परियोजनाले सहयोग पुर्‍याउने गाउँपालिकाले जनाएको छ । 


यस्तै, पशुपालन गर्दै आएका किसानलाई परियोजनाअन्तर्गत अनुदान दिने व्यवस्था छ । ‘वडा-वडाबाट प्रस्ताव माग गरेर छनोट गरी मापदण्डअनुसार अनुदान दिन्छौं’, अध्यक्ष रोकाले भने । 


परियोजनाबाट गाउँपालिकाका ९ वटै वडाका व्यावसायिक तरकारी खेती र पशुपालन गर्दै आएका समूहमा आबद्ध किसान लाभान्वित हुनेछन् ।