close

खोटाङमा २ करोड बढीको कृषि कार्यक्रम चलाइँदै

खोटाङमा २ करोड बढीको कृषि कार्यक्रम चलाइँदै

Trulli
ADVERTISEMENT


खोटाङ - प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (मकै जोन) को कार्यालय खोटाङले चालू आर्थिक वर्ष २ करोड १० लाख बराबरको कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सरोकारवालासँगको समन्वय बैठकमा परियोजना कार्यान्वयन इकाइ (मकै जोन) का वरिष्ठ कृषि अधिकृत डा. मणिरत्न अर्यालले चालू आर्थिक वर्ष चक्लाबन्दीलाई प्राथमिकतामा राखेर मकै खेती कार्यक्रम प्रवद्र्धन गर्ने जानकारी दिए ।


कम्तीमा २ सय रोपनीमा एकै किसिमका बाली लगाउने गरी चक्लाबन्दी खेती प्रोत्साहनका कार्यक्रम ल्याइएको मकै जोनले बताएको छ ।


‘चक्लाबन्दीमा पकेट, ब्लक, जोन सञ्चालनका लागि सहकारी र निजी क्षेत्रबाट माग संकलन, सम्भाव्यता अध्ययन र कार्यान्वयनका लागि ५० लाख बजेट विनियोजन भएको छ’, वरिष्ठ कृषि अधिकृत डा. अर्यालले भने । 


यस्तै, चालू आर्थिक वर्ष स्थानीय तहको लागत सहभागितामा बिउस्रोत केन्द्र स्थापनाका लागि ३० लाख, भण्डारण, प्राथमिक प्रशोधन वा प्रशोधन उद्योग स्थापना गर्न २० लाख, बसन्ते मकैको क्षेत्रफल बिस्तार गर्न १० लाख, हिउँदे मकै क्षेत्र विस्तारका लागि ५ लाख, स्वदेशी हाइब्रिड मकै प्रदर्शन गर्न १ लाख २५ हजार बजेट विनियोजन गरिएको उनले बताए ।


जोन कृषि यन्त्रीकरण सहयोगका लागि २५ लाख, प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम सञ्चालन अनुदानका लागि १० लाख र गत वर्ष विस्तार भएको क्षेत्र र नयाँ विस्तार हुने क्षेत्रमा सिँचाइ पूर्वाधार निर्माण गर्न ६० लाख बजेट खर्चिने डा. अर्यालले जानकारी दिए । 


कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकासको नारा बोकेको मकै जोन जिल्लामा ०७३ मंसिरदेखि सञ्चालनमा ल्याइएको हो ।


हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १३ वडा र हलेसी तुवाचुङ नगरपालिकाका ६ वडामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मकै जोन कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रमले ओगटेका क्षेत्रमा सुरुका वर्ष १.९ टन प्रतिहेक्टर मकै उत्पादन भएको ठाउँमा कार्यक्रमपछि गत वर्ष मकैको उत्पादकत्व ३.४७ टन प्रतिहेक्टर पुगेको डा. अर्यालले बताए ।


मकै जोनमा हाल १३४ कृषक समूह, १३ सहकारी, ७३ उद्यमी तथा २ हजार ९ सय १५ किसान सहभागी छन् । कार्यक्रममा सहकारीले मकै जोनअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा बाँडिएको मकैले उत्पादन नदिएको, दिक्तेलमै किसान भरत राईले ९ वटा प्लास्टिक टनेलमा लगाएको गोलभेडा नफलेको गुनासो गरेका छन् ।