close

बुवासुङका युवा किसानले भित्र्याए हाइटेक प्रविधि

बुवासुङका युवा किसानले भित्र्याए हाइटेक प्रविधि

Trulli
ADVERTISEMENT

  
खोटाङ - उच्च मूल्ययुक्त तरकारी उत्पादनका लागि खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडा बुवासुङका युवा किसानले हाइटेक प्रविधि भित्र्याएका छन् । 

 

सुम्निमा मेरुङ कृषि समूह गठन गरेर २०७० सालदेखि व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आएका युवा किसानले प्रोटेक्ट हर्टिकल्चर प्रविधि विस्तारअन्तर्गत प्रदेश सरकारको आर्थिक सहयोगमा ५० मिटर लम्बाइ र १० मिटर चौडाइ भएको हाइटेक निर्माण गरेका हुन् । 

 

हाइटेकभित्र उच्च गुणस्तरको गोलभेँडा, अकबरे खुर्सानी, बन्दा, काउली, काँक्रो, गाँजरलगायतका तरकारी खेती गर्नेगरी प्रोटेक्ट हर्टिकल्चर प्रविधि भित्र्याइएको सुम्निमा मेरुङ कृषि समूहका अध्यक्ष गजेन्द्र राईले बताए । 

 

प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ विराटनगरको १९ लाख तथा कृषि समूहको आठ लाख ३३ हजार २३६ गरी २७ लाख ३३ हजार २३६ रुपैयाँको लागतमा जीआई पाइप र यूबी प्लाष्टिक प्रयोग गरेर बनाइएको हाइटेक निर्माण गरिएको हो । 

 

स्थानीय बजारमा उच्च मूल्ययुक्त तरकारीको मागलाई पूरा गर्दै बाह्य बजारमा निर्यात गर्ने लक्ष्यका साथ हाइटेक निर्माण गरिएको समूहका अध्यक्ष राईले बताए । हाइटेकभित्र वार्षिक न्यूनतम १४ हजार किलो तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको छ । 

 

तापक्रम, हावा, पानीलाई नियन्त्रण गरी बालीनालीका लागि अनुकूल वातावरण सिर्जना गर्ने हाइटेक निर्माणका लागि सुम्निमा मेरुङ कृषि समूहले गत २ असारमा सम्झौता गरेको जनाएको छ । कृषि पेसालाई प्रविधिमैत्री बनाउने क्रममा हाइटेक निर्माणपछि शुक्रबार  सुम्निमा मेरुङ कृषि समूहले सार्वजनिक सुनुवाइ गरेको छ । 

 

वडा अध्यक्ष लीलाकुमार चौहान, कृषि ज्ञान केन्द्रका कृषि अर्थविद् देवराज गुप्ता, सरोकारवाला, स्थानीयलगायतको उपस्थितिमा हाइटेकभित्रै सार्वजनिक सुनुवाइ गरिएको समूहले जनाएको छ । 

 

कृषिमा ‘होलटाइमर’ बनेर सामूहिक रूपमा कृषिको व्यावसायीकरणमा जुटेका बुवासुङका युवाले अलैँची, आलु, अदुवा, अम्रिसो, बेसार, तिते करेला, अकबरे खुर्सानी, लसुन, जापानिज नासपाती, किवी, एभोकाडो, माछा, तरकारी खेती गर्दै आएका छन् । 

 

घरजग्गा छाडेर तराई बसिरहेका आफन्तको करिब २०० रोपनी जग्गा भाडामा लिएर स्थानीय १५ युवाले सामूहिक खेती सुरु गरेका हुन् । कृषिको व्यावसायीकरण गर्दै कृषिलाई पनि आकर्षक पेसाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ युवाले एकसाथ ठूलो क्षेत्रफलमा खेती लगाएका हुन् । सामूहिक खेतीले हाल प्रतिफल दिन थालेको समूहका अध्यक्ष राईले बताए । 

 

साझेदारीमा सुरु गरिएको कृषि व्यवसायका क्रममा हालसम्म राज्य र लगानीकर्ताको गरी एक करोड रुपैयाँ लगानी भइसकेको छ । आलुबाट वार्षिक ५० देखि ६० हजार र अदुवाबाट ३०-३५ हजार रुपैयाँ आम्दानी भइरहेको राईले बताए । उनका अनुसार माछा, तरकारीलगायतबाट हुने आम्दानी पनि सन्तोषजनक छ । 

 

हाल कृषि समूहलाई अलैँचीबाट पनि आम्दानी आउन थालेको छ । अलैँचीको बेर्ना बिक्री गर्नका लागि कृषि समूहले नर्सरी पनि लगाएको छ । 

 

खेतीका क्रममा आवश्यक मल जुटाउनका लागि उनीहरूले सोही कृषि फार्मभित्र भैँसी पालेका छन् । सामूहिक खेतीका कारण घर छाडेर तराई गएपछि बाँझिएको जग्गाको सदुपयोग भएको उनीहरूको भनाइ छ ।