close

रासायनिक मलको अभावले झापामा धान उत्पादन घट्ने 

रासायनिक मलको अभावले झापामा धान उत्पादन घट्ने 

Trulli
ADVERTISEMENT

झापा– अन्न उत्पादनको हिसाबले अग्रणी मानिने झापामा अन्य वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा तीनदेखि पाँच प्रतिशतसम्म कमी आउने प्रक्षेपण गरिएको छ । धानमा लगाउने समयमा रासायनिक मलको चरम अभावका कारण धान उत्पादन घट्ने भएको हो ।

 

धान रोप्ने सिजनमा समेत युरिया मल पर्याप्त नपाएको र टप ड्रेसिङको समयमा पनि झापामा युरिया मलको अभाव देखिएको, जसले गर्दा उत्पादनमा ह्रास आउने सम्भावना रहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताए । 

 

सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको रासायनिक मल युरिया अहिलेसम्म पनि नपाइएपछि धान पहेँलो भएको हो । पैसा तिरेरै प्राप्त गरिने भए पनि सरकारको लापरबाहीले गर्दा आफूहरूले मल पाउन नसकेको किसानहरूले गुनासो गरेका छन् । 

 

धानमा जम्मा तीन पटक युरिया मल प्रयोग गर्नुपर्ने भए पनि मल अभावका कारण कृषकहरूले मल प्रयोग गर्न पाएका छैनन् । सरकारले समयमा मल उपलब्ध नगराउँदा विना मल धान रोपेका कृषकले दोस्रो पटकका लागि आवश्यक युरिया मल हाल्न पाएका छैनन् । 

 

‘धान रोप्दाको समयमा केही मात्रामा युरिया मल पाए पनि त्यसपछि मल नपाएका कारण लगाउन पाएका छैनौँ’, बिर्तामोड– ९ का किसान गोविन्द सुवेदीले भने, ‘दुई घन्टासम्म लाइनमा बसेर जम्मा दश किलो मल पाइयो, त्यो कहाँ लगाउनु र ?’ 

 

८५ हजार ५०० हेक्टर जमिनमा धान खेती हुँदै आएको झापामा यस वर्ष पर्याप्त पानी परेकाले सबै ठाउँमा धान खेती लगाइएको छ । विशेषगरी झापाका दक्षिणी पालिकाहरू गौरादह, गौरीगञ्ज, कचनकवल, कमललगायतमा अन्य क्षेत्रको तुलनामा बढी धान उत्पादन हुन्छ । तर, बेलामा युरिया मल पाउन नसक्दा उत्पादनमा ह्रास आउने सम्भावना बढेको सिंहले बताए । 

 

युरिया मलको सम्पूर्ण मागको ७० प्रतिशत मल कृषि सामग्री संस्थान र ३० प्रतिशत मल साल्ट ट्रेडिङ कर्पाेरेसनले वितरण गर्नुपर्ने हो । तर, कृषि सामग्री संस्थानले मल आयात गर्न नसकेपछि यस वर्ष मलको अभाव देखिएको हो । 

 

झापामा मात्र करिव ५० हजार बोरा मलको माग भए पनि यस वर्ष करिव ४० प्रतिशत मात्र मल उपलब्ध गराउन सकिएको साल्ट ट्रेडिङ कर्पाेरेसन झापाका प्रमुख देवराज भट्टराईले जनाए । कोरोना भाइरसको प्रकोपका कारण पनि पर्याप्त मल ल्याउन नसकिएको भट्टराईको भनाइ छ । 

 


केरा खेतीको अवस्था 

 

झापाको बाह्रदशी, कन्काई र झापा गाउँपालिकाका ३५ घर परिवारका किसानको अगुवाइमा यी तीनै पालिकामा करिव १४१ विगाह क्षेत्रफलमा केरा खेती भइरहेको छ । धानको भन्दा बढी फाइदा हुने आसमा केरा खेण्ती गर्न थालेका यहाँका किसान यस वर्ष युरिया मलको अभावका कारण निराश बनेका छन् । 

 

दुर्गामाता केरा खेती तथा कृषि फार्म नै दर्ता गरेर खेतीमा लागेका किसानहरू मलको अभावमा यस वर्ष उत्पादनबाट जग्गाको भाडा नै तिर्न नसक्ने अवस्थामा रहेको बताउँछन् । 

 

प्रति विगाह छ बोरा मल आवश्यक पर्ने भए पनि १४१ विगाहका लागि १० बोरा मात्र मल पाएपछि यहाँका केराका बोट नै मर्न थालेका छन् । अहिले केराका बोट नै सुक्न थालेको फार्मका अध्यक्ष लक्ष्मी चिमरियाले बताए । उनले भने, ‘यस वर्ष त जग्गाको भाडासम्म तिर्ने सम्भावना छैन ।’

 

मल ल्याउने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसनले कोरोना भाइरसका कारण पर्याप्त मल ल्याउन नसकेको बताएपछि कृषि ज्ञान केन्द्रको सिफारिसमा थोरै मात्र युरिया मल पाएपछि आफूहरू निराश बनेको अर्का किसान गणेश सङ्ग्रौला बताउँछन् ।