close

बुइपामा बाली उपचार शिविर

बुइपामा बाली उपचार शिविर

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा बाली उपचार शिविर सञ्चालन गरिएको छ । विभिन्न अन्नबालीमा लाग्ने रोग तथा किरा नियन्त्रणमा किसानलाई सहयोग गर्नका लागि नगर कृषि शाखा र वडा कार्यालय बुइपाको सहयोगमा कृषि ज्ञान केन्द्रले एक दिने बाली उपचार शिविर सञ्चालन गरेको हो । 

 

शिविरमा किसानले ल्याएका तरकारी, फलफूल, खाद्यान्न, तेलहन÷दलहन तथा नगदे बालीको नमुना परीक्षण गर्नुका साथै उपचार विधिका बारेमा किसानलाई जानकारी दिइएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए ।

 

बाली उपचार शिविरमा विभिन्न टोलका ६२ किसानले ल्याएका धान, कोदो, सुन्तला, कागती, अमिलो, केरा, लिची, अलैँची, गोलभेँडा, सिमी, भन्टा, काउली, खुर्सानीलगायतका ६९ वटा नमुनाको परीक्षण गर्नुका साथै रोग तथा किराको उपचार विधिका बारेमा किसानलाई मौखिक तथा लिखित रूपमा परामर्श प्रदान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

 

रोग तथा किरा लागेका बाली तथा बोट बिरुवाको नमुनालाई प्लान्ट डाक्टरको तालिम लिएका ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रामनन्द यादव र निमित्त प्रमुख राईले प्राविधिकले परीक्षण गर्दै किसानलाई आवश्यक परामर्श दिइएको छ । 

 

‘नमुना परीक्षणका क्रममा कुन बाली कति क्षेत्रमा लगाएको, रोग कहिले सुरु भएको, रोगले केमा असर गरेको, हाल बिरुवाको अवस्था के छ भन्ने सोधपुछ गरिन्छ’, ज्ञान केन्द्रका निमित्त प्रमुख राईले भने, ‘परीक्षणका क्रममा बालीनालीमा रोग लागेको हो वा किरा लागेको पत्ता लगाएर त्यसको उपचार गर्ने विधिका बारेमा किसानलाई मौखिक र लिखित रूपमा परामर्श दिइएको छ ।’ 

 

किसानलाई एजाडिराक्टिङ नामक कीटनाशक विषादीसमेत प्रदान गरिएको छ । शिविरमा हाल किसानको खेत र बारीमा लगाइएका सबै खालका अन्नबाली, सागसब्जी, फलफूल, बोट बिरुवा र अन्य वनस्पतिको नमुना परीक्षण एवं उपचार गरिएको वडा अध्यक्ष दिनेश राईले बताए । 

 

राईका अनुसार नगरपालिकामा ‘अर्ग्यानिक’ अभियान चलिरहेकाले शिविरमा आएका किसानलाई जैविक विधिलाई प्राथमिकता दिएर बालीनालीको उपचार गर्नका लागि सुझाव दिइएको छ ।