close

बर्दघाट नगरद्वारा कृषक पाठशाला संचालन, कृषकले पाए घाँसको बिउ

बर्दघाट नगरद्वारा कृषक पाठशाला संचालन, कृषकले पाए घाँसको बिउ

Trulli
ADVERTISEMENT

नवलपरासी - पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका पशुपन्छी विकास शाखाले कृषक पाठशाला कार्यक्रम संचालन गरेको छ । 

 

पशु पाल्दा गर्नुपर्ने कर्म तथा पशुको जन्मदेखि मृत्युसम्म गर्नुपर्ने कामका बारे ज्ञान दिने उद्देश्यले मासिक रूपमा एक दिन पाठशाला संचालन हुँदै आएको हो । 

 

पशुपालक कृषकहरूको क्षमता वृद्धि गर्नका लागि पाठशाला संचालन गरिएको बर्दघाट नगरपालिका पशुपन्छी शाखाले जनाएको छ ।

 

यो कार्यक्रम गत वर्षदेखि संचालनमा रहेको बर्दघाट नगरपालिका पशुपन्छी शाखाका अधिकृत भरत लम्सालले जानकारी दिए ।

 

घाँसका बिउ पाएपछि कृषकमा खुसियाली

 

बर्दघाट नगरपालिकाको कार्यालयको स्वीकृत कार्यक्रमअन्तर्गत पशुपन्छी विकास शाखाले उन्नत घाँसका बिउ वितरण गरेको छ ।  हरियो घाँसमा आधारित पशुपालन प्रणाली अपनाउादा लागत मूल्य न्यून भई आम्दानी तथा बचतमा वृद्धि हुने भएकाले पालिकाले घाँसको बिउ वितरण गरेको बताएको छ । 

 

नगरले हिउँदे जै तथा वर्षिम घाँसको बिउ वितरण कार्यक्रम सम्पन्न गरेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए । पशु पालक कृषकहरूलाई ४० क्विन्टल जै घाँसको बिउ र १७ क्विन्टल ६० किलो वर्षिम घाँसको बिउ वितरण गरेको लम्सालले बताए । 

 

पशुपालक कृषकहरूलाई ७५ प्रतिशत अनुदानमा घाँसको बिउ वितरण गरिएको बर्दघाट नगरपालिकाले जनाएको छ । २५ प्रतिशत लागत सहभागितामा उन्नत घाँसका बिउ पाएपछि कृषकहरू हर्षित छन् । कृषकहरूले धान काट्ने समय भइसकेकाले धान काटेपछिको खाली जग्गामा घाँस लगाउने भएकाले समयमै घाँसको बिउ वितरण गरिएको हो । 

 

सात लाख ५० हजार रुपैयाँ बराबरको बिउ प्रदान गरिएको लम्सालले बताए । घाँसमा आधारित पशु पाल्दा दूध तथा मासुजन्य पद्धार्थको लागत कम हुने र मुनाफा वृद्धि हुने उनको भनाइ थियो ।

 

नगरमा १४२ वटा व्यावसायिक गाई–भैँसी तथा बाख्रा पालन फार्महरू दर्ता तथा सूचीकृत भएका छन् । यस कार्यक्रमअन्तर्गत सबै व्यावसायिक फार्महरू र अन्य गरी जम्मा ७२४ जना कृषकहरू लाभान्वित भएका छन् । 

 

‘पारिवारिक पोषणः रोजगारी र समृद्धि’ भन्ने नारासहित कार्यक्रम गरिएको लम्सालले बताए ।