close

पश्चिम नवलपरासीमा यस वर्ष धान उत्पादन घट्ने

पश्चिम नवलपरासीमा यस वर्ष धान उत्पादन घट्ने

Trulli
ADVERTISEMENT

नवलपरासी- पश्चिम नवलपरासी जिल्लामा यस वर्ष धान उत्पादन घट्ने भएको छ । समयमै बिउ तथा मल उपलब्ध नहुनु र बाढी तथा डुबानले धानबाली नष्ट भएका कारण धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख देवेशकुमार मिश्रले जानकारी दिए ।

 

‘समयमै मल, बिउ उपलब्ध भएन । सुरुमै र पछि पनि बाढी आयो । डुबान भयो’, मिश्रले भने, ‘यस कारण १५ देखि २० प्रतिशतसम्म धान उत्पादन घट्ने आँकलन छ ।’

 

धान उत्पादन घट्ने आँकलन भए पनि पालिकाहरूबाट के कति क्षति भएको हो, त्यो यकिन भएपछि मात्र तथ्यांक आउने उनले बताए । ‘हामी तथ्यांक संकलनमै छौँ’, उनले भने, ‘बाढी तथा डुबान क्षेत्रमा पुगेर धानबालीको क्षति हेर्दा उत्पादन घट्छ नै ।’

 

आर्थिक वर्ष २०७६/०७७ मा पश्चिम नवलपरासीमा ९० हजार ३५४ मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा धानखेती गर्ने जमिनको २१ हजार १७५ हेक्टर रहेको छ । भूगोलले सानो जिल्ला भए पनि कृषि उत्पादनमा पश्चिम नवलपरासी उत्पादनशील जिल्ला मानिन्छ । यहाँका सातै पालिकामा धान खेती हुन्छ ।