close

डोल्पामा बन्यो पहिलो सामूहिक स्याउ नर्सरी

डोल्पामा बन्यो पहिलो सामूहिक स्याउ नर्सरी

Trulli
ADVERTISEMENT

डोल्पा-  हावापानीको दृष्टिले डोल्पाको तल्लो भेगमा स्याउ खेतीको सम्भावना प्रशस्त भए उन्नत जातका बिरुवा नपाउँदा कृषकले भोगिरहेको हैरानी अब हट्ने भएको छ ।


डोल्पाको मुड्केचुला गाउँपालिकाको वडा–९ सामूहिक स्याउ नर्सरी स्थापना गरिएपछि कृषकले उन्नत जातका स्याउ बिरुवा रोप्न पाउने भएका हुन् ।


मुड्केचुला गाउँपालिकाको आर्थिक सहयोगमा वडा–९ को होर्तमा सामूहिक स्याउ नर्सरी स्थापना गरिएको छ । समूहभित्रका कृषकहरूले गाउँ नजिकैको निजी जग्गा भाडामा लिएर नर्सरी स्थापना गरेका हुन् ।


२०७५ मा स्थापना भएको कर्णाली जडीबुटी तथा कृषक समूहले उक्त नर्सरीमा हाल २५ हजार स्याउका बिरुवा हुर्काइरहेको छ । समूहलाई ०७५ मा मुड्केचुला गाउँपालिकाले ५ लाख र ०७६ मा ७ लाख सहयोग गरेपछि कृषकले भारतबाट क्राइप एपल बिउ खरिद गरी उत्पादन गर्न लागेको समूहकी सदस्य गोरीकला बुढाले बताइन् ।


बिरुवा कलमी गर्न छिमेकी जुम्लाबाट विभिन्न जातका साइन खरिद तथा ढुवानी गरेर ल्याइएको वडाध्यक्ष जयप्रसाद बुढाले जानकारी दिए ।


‘कलमी गर्न जनशक्ति नभएकाले जुम्लाबाटै ६ प्राविधिक ल्याएर प्रतिबोटको १२ रुपैयाँका दरमा कलमी गराउँदा समूहको  २ लाख १६ हजार खर्च भएको छ’, वडाध्यक्ष बुढाले भने  ।


पहिलो वर्ष गाउँपालिकाबाट प्राप्त रकमबाट ५ केजी स्याउ बिउ खरिद एवं नर्सरी व्यवस्थापन गरेको र दोस्रो वर्ष पनि भारतबाटै ६ केजी बिउ खरिद गरी नर्सरीमा लगाए सोचेजस्तो नउम्रिएको समूहका सचिव हस्तलाल बुढाले जानकारी दिए ।


‘यो वर्ष २५ हजार बिरुवा बेच्ने र अर्को वर्ष २० हजार बिरुवा कलमी गर्ने लक्ष्य छ’, सचिव बुढाले भने ।


दोस्रो वर्षकै रकमबाट बारबन्देज तथा उत्पादित बिरुवाको कलमी र त्यसका लागि आवश्यक साइन तथा अन्य सामग्री व्यवस्थापन गरेको समूहका अध्यक्ष पुतली बुढाले बताइन् ।


‘समूहले समाज उत्थानका लागि हरेक महिना मासिक बैठक बसी बचत पनि गर्दै आएको छ । हाल ५ लाख रुपैयाँ ब्याजमा लगाइएको छ’, समूहका कोषाध्यक्ष श्रीमती हस्ता बुढाले भनिन् ।


वडाध्यक्ष जयप्रसाद बुढाको विशेष पहलमा सामूहिक स्याउ नर्सरी खेती स्थापना गरिएको किसान भानुभक्त बुढा बताउँछन् ।

 
‘गाउँमा निजी फर्म, समूहभन्दा सामूहिक नर्सरी तथा जडीबुटी स्थापना गर्दा सबैको पहुँच पुग्ने र काम गर्न सहज हुने भएकाले सबै कृषकलाई समेटेर समूह निर्माण गर्न लगाइएको हो’, वडाध्यक्ष  बुढाले भने ।


जिल्लामै पहिलो सामूहिक नर्सरी भएकाले  गाउँपालिकाको १ देखि ९ वडासम्म हावापानीअनुसार फलफूल, तरकारी, अन्नबालीबाट सबै कृषकले आम्दानीको स्रोत बनाउन सकून् भन्ने उद्देश्यले सामूहिक स्याउका बिरुवा वितरण गरिएको मुड्केचुला गाउँपालिकाका कृषि शाखा  प्रमुख श्रवणकुमार बुढाले बताए ।