close

कृषिमन्त्री पौडेलद्वारा रुकुमपूर्वलाई अर्ग्यानिक जिल्ला घोषणा

कृषिमन्त्री पौडेलद्वारा रुकुमपूर्वलाई अर्ग्यानिक जिल्ला घोषणा

Trulli
ADVERTISEMENT

रुकुम (पूर्व) - लुम्बिनी प्रदेशले रुकुमपूर्वलाई अर्ग्यानिक जिल्ला घोषणा गरेको छ । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले बिहीबार जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोटमा एक कार्यक्रमका बीच रुकुमपूर्वलाई अर्ग्यानिक जिल्ला घोषणा गरेकी हुन् ।


जिल्लामा प्रदेश मातहतको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुमपूर्वले आयोजना गरेको लुम्बिनी प्रदेशकै हिमाली जिल्लालाई अर्ग्यानिक जिल्ला उद्घाटन समारोहमा ‘गरौँ व्यावसायिक कृषि, यसैबाट सुरु हुन्छ प्रदेशको समृद्धि’ भन्ने मूल नाराका साथ बिहीबार रुकुमपूर्व आएकी कृषिमन्त्री पौडेलले अर्ग्यानिक जिल्ला घोषणा गरेकी हुन् । 

 

मन्त्री पौडेलले प्रदेश सरकारको ध्यान प्रदेशका १२ वटा जिल्लामध्ये रुकुमपूर्वलाई कसरी राम्रो र समृद्ध जिल्ला बनाउने भनेतर्फ केन्द्रित भएको बताइन् । सुनको सिरानी राखेर नुन खोज्दै हिँड्ने रुकुमका जनतालाई समृद्ध बनाउनकै लागि प्रदेशले अर्ग्यानिक जिल्ला घोषणा गरेको उनले प्रष्ट पारिन् ।


जिल्लामा यसअघि गरी राखिएका परम्परागत खेतीलाई व्यवस्थित ढंगले विकास गरी जिल्लाका सबै नागरिकलाई उद्यम व्यवसायमा आकर्षण गर्ने र देशमै लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वलाई  अर्ग्यानिक उत्पादन जिल्लाको रूपमा कृषि क्रान्ति गर्न प्रदेशले लगानी गरिदिने कृषकलाई हौसला दिइन् । 


चालू आर्थिक वर्षमा प्रदेश सरकारको नीति तथा कार्यक्रममा रुकुमपूर्वलाई अर्ग्यानिक कृषि उत्पादन जिल्ला उल्लेख गरेअनुसार कार्यक्रमका लागि पनि उचित बजेटको व्यवस्था गरेको छ ।

 

रुकुमपूर्वलाई अर्ग्यानिक जिल्ला बनाउन तीनवटै स्थानीय तहमा भेडा-बाख्रा मिसन कार्यक्रम, मासु उत्पादनका लागि बाख्रा पालन कार्यक्रम, प्राङ्गारिक मलमा अनुदान, यसैगरी तरकारी प्रवर्द्धन कार्यक्रम, माटो सुधार कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, सुन्तला, स्याउ, ओखर, आलु, लसुन, टिम्मुर, मह उत्पादन कार्यक्रम संचालन गरिनेछ । 


विषादियुक्त वस्तु उत्पादन गर्न किसानलाई प्रोत्साहनसहित प्रदेश सरकारले कार्यक्रम संचालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको मन्त्री पौडेलले जानकारी दिइन् ।