close

चिशंखुगढीका सबै विद्यालय खुले

चिशंखुगढीका सबै विद्यालय खुले

Trulli
ADVERTISEMENT

ओखलढुंगा - चिशंखुगढी गाउँपालिकाले विद्यालयमा पठनपाठनलाई नियमित गरेको छ । कोरोना संक्रमणको जोखिमका बीच शैक्षिक सत्र सदुपयोग गर्न विद्यालय सुचारु गरेको हो । 


गाउँपालिकाले सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णयबाट अनुकूलता र सुरक्षा सतर्कता हेरेर कक्षा सञ्चालन गर्ने निर्णय गरेपछि विद्यालय सुचारु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए । 


गाउँपालिकाभित्र ४२ वटा विद्यालय छन् । दशैँलगत्तै आइतबारबाटै सबै विद्यालय सुचारु भएका छन् । सबैजसो विद्यालयले जोर-बिजोर प्रणाली अपनाएर कक्षा सञ्चालन गरेका छन् । जोर बार जोर कक्षा र बिजोर बार बिजोर कक्षा हुने गरी दिनको २ बजेसम्म पठनपाठन हुने गरेको महेश्वर माविका प्रधानाध्यापक सन्तोषकाजी कार्कीले बताए । उनले भने, ‘१ बजे खेल्ने छुट्टी छैन, सबैजसो विद्यालयले जोर-बिजोरै गरेर कक्षा सुरु गरेका छन् ।’


जिल्लाका अन्य तहका विद्यालयमा दशैँ तिहारको बीचमा विगतमा जस्तै वर्षे बिदाबाट बचेको बिदा दिइएको छ । कोरोना संक्रमणको त्रासले लामो समय लकडाउनमा विद्यालय बन्द रहेकाले शैक्षिक क्षेत्र डामाडोल हुने अवस्था आएकाले सतर्ककतासहित कक्षा सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिए । 


विद्यार्थीलाई विषयवस्तुमा केन्द्रित गर्न र गृहकार्य तथा स्वअध्ययनमा लगाउन पनि विद्यालय सुचारु हुनुपर्ने अभिभावकको भनाइ छ । 


दुर्गम गाउँ, इन्टरनेट तथा कम्प्युटरको पहुँच नहुने भएकाले प्रत्यक्ष उपस्थित भएर नै कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाले जनाएको छ । वैकल्पिक माध्यम प्रयोग गर्न नसकिने अवस्थामा सतर्कतासहित कक्षा चलिरहेको माम्खा माविका प्रधानाध्यापक गेटप्रसाद अधिकारीले बताए ।