close

दाताको सहयोगमा किसानले पाए हातहातै कृषि सामग्री

दाताको सहयोगमा किसानले पाए हातहातै कृषि सामग्री

Trulli
ADVERTISEMENT

ओखलढुंगा - ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाले व्यावसायिक कृषिमा लागेका पालिकाभित्रका किसानलाई कृषि औजार तथा उपकरण वितरण गरेको छ । गाउँपालिकाका नौवटै वडाका २० जनाका दरले १८० किसानहरूलाई कृषि समूह, सहकारी तथा फर्ममार्फत सामग्री वितरण गरेको हो । 


गाउँपालिकाले हेल्भेटास नेपालको ४९ लाख १७ हजार ५०० रुपैयाँ बराबरको सामग्री खरिद गरेर किसानलाई कृषि सामग्री वितरण गरिएको छ । कृषि तथा पशु सेवा कोभिड- १९ विशेष सहयोग कार्यक्रमअन्तर्गत कृषि सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले जानकारी दिए । 

 

उक्त कार्यक्रमअन्तर्गत कृषि फर्म तथा कृषि समूहमार्फत बेमौसमी तरकारी खेतीका लागि प्लास्टिक पोलिहाउस तथा सिँचाइ सेट हस्तान्तरण गरिएको छ । यस्तै, गाउँपालिकास्तरीय पशु प्रयोगशाला स्थापनाका लागि आवश्यक यन्त्र, उपकरण र सामग्रीहरूको व्यवस्था तथा कृषि उपज संकलन र बिक्री केन्द्रका लागि सहयोग सामग्रीसमेत वितरण गरिएको छ । 


किसानहरूलाई व्यावसायिक बनाउन यस कार्यक्रमले सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । खिजीदेम्बा गाउँपालिकाको अधिकांश भूभाग आलुलगायतका तरकारी बढी उत्पादन हुने क्षेत्र हुन् । कृषि सामग्री पाएपछि यहाँका किसान पनि खुसी भएको अध्यक्ष रोकाको भनाइ छ । 


यसअघि गाउँपालिकाले सहयोग प्राप्त गर्न मापदण्ड तोकेर आवेदन माग गरेको थियो । सहयोग पाउन कृषि समूह, सहकारी तथा दर्ता भएका कृषिफर्मबाट निवेदन दिएका किसानले उक्त सहयोग पाएका हुन् ।