close

गल्याङमा अदुवा प्रशोधन केन्द्र बन्दै

गल्याङमा अदुवा प्रशोधन केन्द्र बन्दै

Trulli
ADVERTISEMENT

स्याङ्जा - गल्याङ नगरपालिकामा अदुवा प्रशोधन केन्द्र निर्माणको प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मसलाबाली जोनअन्तर्गत छनोटमा परेको गल्याङ नगरपालिकामा अदुवा प्रशोधन केन्द्र निर्माण गर्न प्रक्रिया सुरु गरिएको हो । 


गल्याङ नगरपालिका वडा नम्बर- ३ वल्पुगमा अदुवा प्रशोधन केन्द्र निर्माणको काम गर्न जग्गाको छनोट गरिएको छ । गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याङ्जाका प्रमुख माधव लम्साललगायतले जग्गाको निरीक्षण गर्नुभएको हो । 


निरीक्षणका क्रममा अदुवाको गोदामसहित प्रशोधनको कार्य गर्नका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माण गर्ने तय भएको छ । यसका लागि आवश्यक बजेटको प्रबन्ध गरी तत्काल काम अगाडि बढाउने निर्णय भएको नगरप्रमुख भूपराज अधिकारीले बताए । 


उनले भने, ‘किसानले उत्पादन गरेको अदुवालाई गल्याङमा नै प्रशोधन गर्ने व्यवस्था मिलाउनका लागि केन्द्र स्थापना गर्न लागिएको हो ।’


नगरप्रमुख अधिकारीले गल्याङ नगरवासी अदुवा उत्पादनमा उत्साहित बन्दै गएको भन्दै उत्पादित वस्तुको बजारको ग्यारेण्टी नगरपालिकाले लिने बताए । 


स्याङ्जाका ११ वटा पालिकामध्ये गल्याङ नगरपालिका मात्र मसलाबाली जोनमा छनोट भई कार्यान्वयनको चरणमा रहेको छ ।