close

दार्चुलाका किसान ओखर खेतीमा आकर्षित

दार्चुलाका किसान ओखर खेतीमा आकर्षित

Trulli
ADVERTISEMENT

दार्चुला- पछिल्लो समय दार्चुलाका किसान ओखर खेतीप्रति आकर्षित हुँदै गएका छन् । जिल्लामा ओखर भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा उनीहरूका लागि राम्रो आम्दानीको स्रोत बनेको हो ।


जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर- ६ का कमलसिंह धामीले ओखर खेतीबाट मनग्ये आम्दानी हुने गरेको बताउँछन् । व्यावसायिक रूपमा ओखर खेतीमा लागेपछि आयआर्जनसमेत वृद्धि भएको छ । उनले भने, ‘स्थानीय सरकारले किसानका लागि राहत हुने गरी काम गर्नुपर्छ । व्यावसायिक खेतीमा लागेकाहरूलाई अनुदानको व्यवस्था मिलाउन सके अझै किसानहरू यो व्यवसायमा आकर्षित हुने थिए ।


अहिले पनि ओखरका लागि बगैँचा व्यवस्थापनमा आफूहरू लागेको बताउँदै उनले भने, ‘सुरुको चरणमा हुर्काउन दुःख हुने गरे पनि हुर्केपछि ओखरमा खासै मिहिनेत छैन । कम मिहिनेतमा बढी आयआर्जनमा सहयोग पुग्ने खेती ओखर हो ।’


ओखर खरिद गर्न व्यापारी गाउँमै आउने गरेका छन् । यहाँका नौवटै स्थानीय तहमा ओखर खेती संचालन गर्न सकिने कृषि ज्ञानकेन्द्र दार्चुलाका प्रमुख प्रकाशकुमार पन्तले बताए । अहिले खलंगा बजारका विभिन्न चोकमा ओखर बेच्ने किसानको पनि भीडभाड हुने गरेको छ ।


जिल्लामा ओखर खेती गर्नेको संख्या बढेको छ । कार्यालयका अनुुसार जिल्लामा १४३ हेक्टर क्षेत्रफलमा ओखर खेती हुने गरेको छ । उनले भने, ‘एक वर्षमा १० देखि १५ टनसम्म ओखर फल्ने गरेको छ । बजारमा अहिले ओखरको मूल्य प्रतिदाना १० देखि २० रुपैयाँका दरले बिक्री हुँदै आएको छ ।’


विगतका वर्षहरूमा काठमाडौं, पोखरा, नेपालगंज, सुर्खेतलगायतका  सुदूरपश्चिमका दार्चुलाको जौलजिबी, मालिकार्जुन, बैतडीको सतबाज, डडेल्धुराको खोड्पेसम्म शैल्यशिखरको ओखर बिक्री हुने गरेको व्यवसायी धामीले जानकारी दिए ।


पछिल्लो समय यहाँ आउने व्यक्तिहरू दार्चुली ओखर खोज्न थालेका छन् । यस वर्षदेखि कृषि ज्ञान केन्द्र दार्चुलाले जिल्लाको ओखरको ब्राण्ड गरेर पठाउन थालेपछि ओखरको माग पनि उच्च हुँदै आएको छ ।