close

दार्चुलाका कृषक युवालाई अनुदानको वर्षा

दार्चुलाका कृषक युवालाई अनुदानको वर्षा

Trulli
ADVERTISEMENT

दार्चुला- दार्चुलाको व्याँस गाउँपालिकाले कृषिमा युवालाई आकर्षण बढाउन ‘युवा स्वरोजगार र युवा लक्षित कार्यक्रम’ संचालन गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रममा ‘कृषि क्षेत्रको अभिवृद्धि व्याँस गाउँपालिकाको समृद्धि’ भन्ने नाराका साथ कार्यक्रम संचालन गर्न लागेको हो ।


कोरोनाका कारण रोजगारी गुमाएर घर फर्किएका तथा गरिब किसानलाई कृषिमा आत्मनिर्भर बनाउन कार्यक्रम संचालन गर्न लागिएको व्याँस गाउँपालिकाका कृषि शाखा प्रमुख विश्वेश्वरप्रसाद बडुले बताए ।

 
‘कार्यक्रमबाट कोराना भाइरसको जोखिमबाट सिर्जित असामान्य अवस्थाका कारण वैदेशिक तथा स्वदेशमा रोजगारी गुमाएका युवाका ज्ञान, सीप र अनुभवलाई प्रयोग गरी स्वरोजगार बनाई आत्मनिर्भरता कायम गरिनेछ’, बडूले भने ।


कृषि शाखा प्रमुख बडूका अनुसार चालू आर्थिक वर्षमा गाउँपालिकाबाट फलफूलका बिरुवा बितरण, आलुको बिउ वितरण, ७५ प्रतिशत अनुदानमा कृषि औजार, उपकरण वितरण, गाउँपालिकाका हरेक विद्यालयहरूमा प्रतिविद्यालय १० वटा फलफूल वितरण कार्यक्रम संचालन गर्न लागिएको हो ।


यस्तै, गाउँपालिकाले किसानहरूका लागि कुटानी-पिसानी मिल संचालनमा सहुलियत दिने भएको छ । ७५ प्रतिशत अनुदानमा बेमौसमी तरकारी खेती गर्नका लागि प्लास्टिक घर वितरण कार्यक्रम पनि संचालन हुनेछ ।


गाउँपालिकाले दुई रोपनी क्षेत्रफलमा विस्तार हुने गरी आलुको पकेट क्षेत्र निर्माण तथा २०० रोपनी क्षेत्रफलमा विस्तार हुनेगरी ओखर पकेट क्षेत्र विस्तार कार्यक्रम संचालन गर्ने कृषि शाखा प्रमुख बडूले जानकारी दिए ।


यी सबै कार्यक्रममा विदेशबाट आएका युवा तथा कृषकहरूलाई लगाइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा कृषि क्षेत्रमा झण्डै २० लाख तथा संघीय सरकारको सशर्त अनुदानतर्फ ३३ लाख गरी ५३ लाख रुपैयाँ बजेट खर्च गर्ने जनाएको छ ।


कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबालीका पकेट क्षेत्रको रूपमा घोषणा गरिने, मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादन तथा माटोको परीक्षण गरी आधुनिक तरिकाले कृषिलाई व्यावसायीकरण गर्न प्रोत्साहन गरिने नीति लिइएको गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताए ।


कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, विशिष्टीकरण र व्यावसायिकीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिइने उनको भनाइ छ ।


नगदेबालीतर्फको विशेष जोनका रूपमा  संचालित कफी जोन, अलैँची जोन र सुन्तला पकेट जोनका कार्यक्रमलाई प्रदेश सरकारसँगको समन्वयमा विकास, विस्तार गर्नुका साथै स्थानीय कृषकको आयआर्जनको मुख्य क्षेत्रका रूपमा  स्थापित गर्दै लैजाने नीति लिएकोे छ ।


कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि विगतमा संचालित अधुरा सिँचाइ आयोजनालाई सम्पन्न गर्न संघ र प्रदेश सरकारसँग समन्वय गर्दै साना सिँचाइ कार्यक्रम गाउँपालिकाबाट संचालन गरी सिञ्चित भूमिमा उत्पादनमुखी विशेष कार्यक्रम संचालन गरिने गाउँपालिकाले जनाएको छ ।