close

नौगाड गाउँमा छ्यालब्याल तरकारी, भान्सामा आफ्नै, बजारमा पनि आफ्नै 

नौगाड गाउँमा छ्यालब्याल तरकारी, भान्सामा आफ्नै, बजारमा पनि आफ्नै 

Trulli
ADVERTISEMENT

दार्चुला- दार्चुलाको नौगाड गाउँपालिकामा तरकारी पकेट क्षेत्र घोषणा गरिएपछि स्थानीय किसानको आम्दानी ह्वात्तै बढेको छ । वडा नम्बर २ खारमा व्यावसायिक तरकारी खेती गर्न यो वर्ष सुदूरपश्चिम प्रदेशको प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत मानबहादुर धामीले १० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

 

नौगाड गाउँपालिकाका धामीले दल्लेखको तरकारी पकेट क्षेत्रलाई अझै विस्तार गर्न सांसद पूर्वाधार विकासको बजेट विनियोजन गरेका हुन् । गत वर्ष संघीय सांसद गणेशसिंह ठगुन्नाले नौगाडमा तरकारी पकेट क्षेत्र बनाउन ४० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । यसबाट गाउँपालिकामा पोलिहाउस निर्माण भएका छन् । 

 

नौगाड गाउँपालिका वडा नम्बर २ खारमा तरकारी पकेट क्षेत्र बनाएसँगै पालिका तरकारीमा आत्मनिर्भर बनेको छ । विगतमा तरकारीका लागि बजार धाउनुपर्ने अवस्था नौगाडले अन्त्य गरेको हो ।

 

सधैँ सडक पूर्वाधारमा मात्रै लगानी हुँदै आएकामा गाउँपालिकाले किसानलाई व्यावसायिक तरकारी खेतीमा आत्मनिर्भर बनाउने योजना अघि सारेको छ । अहिले गाउँपालिका अधिकांश बस्तीमा तरकारी फलाइएको छ । पोलीहाउका घर निर्माण भइरहेका छन् । 


कृषकले सिजनमा लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन् । वडा नम्बर २ खारका व्यावसायिक तरकारी कृषक धनसिंह सितोली पछिल्लो समय नौगाड तरकारीमा आत्मनिर्भर हुँदै गएको बताउँछन् । ‘चार–पाँच पोलिहाउस राखेर सबैले तरकारी खेती गर्दै छन् । तरकारीबाटै लाखौँ आम्दानी हुन थालेको छ । तरकारी खेतीबाट घरमै समृद्धि भित्रिएको छ’, कृषक सितोलीले भने ।

 

विगतमा सहरबजारबाट ल्याउनुपर्ने तरकारी अहिले गाउँबाटै बजारमा बिक्री हुन थालेको उनले सुनाए । गाउँपालिकाले तरकारी किसानका लागि नीति नै बनाएर व्यावसायिक तरकारी उत्पादनमा जोड दिएको छ । यसले गर्दा अहिले सबैले तरकारी फलाउन थालेको उनी बताउँछन् ।

 

नगदेबाली रूपमा तरकारी बिक्री हुने भएपछि किसानको पनि आकर्षण बढेको छ । गहुँ, मकैभन्दा अहिले तरकारीबाट आम्दानी राम्रो हुने गरेको स्थानीयको अनुभव छ ।

 

गाउँपालिकाले ६ वटै वडामा पोलिहाउस वितरण गरेर किसानलाई व्यावसायिक बनाउन थालेको नौगाड वडा नम्बर ५ का तारादेवी धामी बताउँछिन् । ‘यसअघि यहाँ केही विकास थिएन । किसानलाई तरकारी खेती गर्नुपर्छ भन्ने जानकारी थिएन’, उनले भनिन्, ‘अहिले त किसानले घरघरमा पोलिहाउस राखेर तरकारी खेती गर्दै छन् । किसानलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले अनुदान दिनुपर्छ ।’ 

 

गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले किसानलाई व्यावसायिक बनाउन पालिकाले अनुदान सहयोग दिइरहेको बताए । ‘ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना, गाउँपालिका, संघीय सांसद र प्रदेशबाट समेत कृषि क्षेत्रमा लगानी भएको छ । अहिले हरेक घरधुरीमा तरकारीमा उत्पादन भइरहेको छ’, अध्यक्ष सिंहले भने ।