close

कृषिमा व्यवसायिकीकरण गर्न प्राविधिक नियुक्त गर्दै बराहपोखरी 

कृषिमा व्यवसायिकीकरण गर्न प्राविधिक नियुक्त गर्दै बराहपोखरी 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको बराहपोखरी गाउँपालिकाले नायब कृषि तथा पशु सेवा प्राविधिक सहायक नियुक्तिको तयारी गरेको छ । कृषि तथा पशुपालनको व्यवसायिकीकरणका लागि दक्ष जनशक्ति जुटाउन गाउँपालिकाले नायब कृषि सेवा प्राविधिक सहायक स्तर चौथो पदका लागि ३ जना र नायब पशु सेवा प्राविधिक सहायक स्तर चौथो पदका लागि ३ जना कर्मचारी नियुक्तिको तयारी गरेको हो ।


नायब कृषि सेवा प्राविधिक सहायक स्तर चौथो पदको कर्मचारी छनोटका लागि गाउँपालिकाले सोमबार लिखित परीक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको कार्यालयमा सञ्चालन गरिएको लिखित परीक्षामा ७ जना परीक्षार्थीले नाम निकालेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले बताए ।


सो पदका लागि ३१ जनाले फर्म भरेकामा परीक्षामा १८ जना मात्र सामेल भएका थिए । यस्तै, नायब पशु सेवा प्राविधिक सहायक छनोटका लागि आगामी २२ पुसमा लिखित परीक्षा सञ्चालन हुने गाउँपालिकाका प्रशासन सहायक रमेश पोखरेलले जानकारी दिए ।


नायब पशु सेवा प्राविधिक सहायक स्तरका लागि पशुपालन तथा पशु स्वास्थ्य विषय लिएर टीएसएलसी उत्तीर्ण गरेको हुनुपर्नेछ । यस्तै, १ जना प्राविधिक सहायक नियुक्तिका लागि आगामी २७ पुसमा लिखित परीक्षा सञ्चालन हुनेछ ।

 

गाउँपालिकामा २ जना कार्यालय सहयोगी नियुक्तिका लागि आगामी ५ माघमा परीक्षा मिति तोकिएको छ । २ जना कार्यालय सहयोगीका लागि ५१ जनाको आवेदन परेको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।