close

मर्स्याङदीमा खुल्यो कृषि बजार 

मर्स्याङदीमा खुल्यो कृषि बजार 

Trulli
ADVERTISEMENT

लमजुङ- लमजुङको मर्स्याङदी गाउँपालिकामा कृषि सामग्री बजारीकरणका लागि कृषि बजार केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाले वडा नम्बर ३ खुँदी बजारमा किसानबाट उत्पादित कृषि सामग्री संकलन गरेर बिक्री गर्न कृषि बजार केन्द्र निर्माण गरिएको हो ।


किसानलाई व्यावसायिक रूपमा कृषि पेसामा प्रोत्साहित गर्न कृषि उपज संकलन केन्द्रको अवधारणा ल्याइएको गाउँपालिकाले जनाएको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको लगानीमा निर्माण गरिएको कृषि बजार केन्द्र भवन र चिस्यान केन्द्र उद्घाटन गरिएको हो ।


मर्स्याङदी बहुउद्देश्यीय कृषि सहकारी संस्थाका अध्यक्ष वीरेन्द्र भण्डारीले कृषि बजार स्थापनापछि किसानको उत्पादनले बजार पाउने बताए । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले कृषि बजार केन्द्र उद्घाटन गर्दै किसानलाई ढुक्क भएर उत्पादनमा लाग्न आग्रह गरे ।


‘गाउँपालिकामा कृषि बजार केन्द्र स्थापनापछि अब किसानले उत्पादन गरेको कृषि सामग्री बजार अभावमा खेर जाँदैनन्’, उनले भने । कृषि बजारमा तरकारी, फलफूल, नगदेबाली, दुग्धजन्य सामग्री र पशुजन्य खसी-बोका, कुखुरालगायत राखिनेछ । त्यहाँ राखिने उत्पादन केन्द्रमार्फत बिक्री गरिने अध्यक्ष गुरुङले बताए ।


स्थानीय कृषकले उत्पादन गरेका कृषिजन्य सामग्रीले बजार नपाइरहेको अवस्थामा कृषि बजार स्थापनापछि उत्पादनले मूल्य पाउने उनको भनाइ छ । ‘अब उत्पादित सामग्री बिक्री नभए, बजार नपाए गाउँपालिकाले कृषकलाई अनुदान दिनेछ’, अध्यक्ष गुरुङले भने ।


गण्डकी प्रदेश सरकारको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लगानीमा कृषि बजार केन्द्रको भवन र चिस्यान केन्द्र निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिए ।


२९ लाखमा कृषि बजार केन्द्रको भवन र १६ लाख रुपैयाँमा चिस्यान केन्द्र निर्माण गरिएको उनले बताए ।मर्स्याङदी बहुउद्देश्यीय सहकारीमार्फत कृषि बजार सञ्चालन हुनेछ ।


‘कृषकलाई उत्पादनमा लाग्न हौसला दिने र स्थानीय उत्पादनलाई बढावा दिने लक्ष्यका साथ कृषि बजार केन्द्र सञ्चालनमा ल्याइएको हो’, सहकारीका अध्यक्ष वीरेन्द्र भण्डारीले भने ।