close

कृषक पाठशालामा झुम्मिँदै बर्दघाटका किसान

कृषक पाठशालामा झुम्मिँदै बर्दघाटका किसान

Trulli
ADVERTISEMENT

नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा गत आर्थिक वर्ष कृषक लक्षित कृषक पाठशाला सञ्चालन गरियो । पशुपक्षीपालन गर्ने कृषकमाझ लोकप्रिय रहेको पाठशाला चालू वर्षमा भने खेतीपातीमा लाग्ने किसानबीच पनि लोकप्रिय हुँदै गएको छ ।

 

नगरका विकट बस्तीदेखि सुगम गाउँका कृषकसम्मै यतिबेला यसको चर्चा चुलिएको छ । पहिलो पशुपालन गर्नेबीच यो कार्यक्रम थियो भने अहिले डेरी सञ्चालन, तरकारी र मकै लगाउनेसम्म कार्यक्रम विस्तार भएको छ ।

 

‘बर्दघाटको वडा नम्बर २ अन्तर्गत उत्तरी चुरे क्षेत्र क्षेत्रमा बाख्रापालक कृषकदेखि तराई भूगोलमा खेती गर्ने कृषकलाई समेटेर कार्यक्रम सञ्चालन भइरहेको छ’, बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्यालले भने, ‘पाठशालामा कृषकले सिक्ने र प्राविधिक पक्षबारे जानकारी लिन सहयोग पुगेको छ ।’

 

पाठशालाले व्यावसायिक कृषक बन्न पे्ररित गर्दै आएको उनले बताए । अगुवा कृषक तयार गर्न पाठशाला सञ्चालन गरिएको बस्याल सुनाउँछन् ।


नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना बुटवलको आर्थिक र बर्दघाट नगरपालिका पशुपक्षी विकास शाखाको प्राविधिक सहयोगमा यो कार्यक्रम सञ्चालन हुँदै आएकोे पशुपक्षी विकास शाखा प्रमुख भरत लम्सालले जानकारी दिए ।


बर्दघाटले नगरको उत्तरी चुरे क्षेत्र आम्वास, बाँसखोला, सुखौरा, संसारकोट आदिलाई बाख्रापकेट क्षेत्र घोषणा गरेको थियो । कृषक पाठशालामा मुख्यगरी बाख्रापालन विषयमा विभिन्न अनुसन्धान, अवलोकन गर्न नमुनाको रूपमा ५ वटा सुधारिएको बाख्राखोर निर्माण गरिने लम्सालले बताए ।


कृषक पाठशालामा बैठक १६ पटकसम्म सञ्चालन गरिनेछ भने अन्त्यमा कृषक दिवस मनाइनेछ । सोही अवसरमा बाख्रापालन पाठशालामा गरिएको अध्ययन तथा विश्लेषण अन्य कृषकलाई जानकारी गराई कार्यक्रम समापन गरिने उनको भनाइ छ ।


चालू वर्ष बर्दघाटअन्तर्गत वडा नम्बर २ को आम्वास, वडा नम्बर १६ को केराबारी, वडा नम्बर १३ को मझौनी गरी ३ स्थानमा कृषक पाठशाला सञ्चालन गरिनेछ ।

 

कृषक पाठशाला कार्यक्रम बर्दघाटको वडा नम्बर ४ थारुगाउँमा सञ्चालन भएको छ । कार्यक्रमको बर्दघाट नगर प्रमुख बस्यालले उद्घाटन गरे । गत मंगलबारदेखि सुरु भएको कार्यक्रम ३ महिनासम्म सञ्चालन हुनेछ । 


नगरपालिकाका कृषि विकास शाखा प्रमुख युवराज लम्साल कृषि पाठशाला स्कुलजस्तै सिकाइ केन्द्र भएको बताउँछन् । ‘यहाँ स्कुलमा जस्तै कृषकलाई सिकाइन्छ’, लम्साल भन्छन्, ‘मापदण्डअनुसार खेती गर्न सिकाइन्छ ।’ 


बर्दघाट वडा नम्बर २ र १६ मा बाख्राको पाठशाला सञ्चालन हुनेछ भने १३ नम्बर वडाको मझौनीमा गाईपालन (डेरी) पाठशाला सञ्चालन गरिने उनले जानकारी दिए । एउटा पाठशाला सञ्चालनको खर्च ३ लाख रुपैयाँ रहेको जनाइएको छ ।